प्रहार समाचार । तनहुँ, १ पुस २०८२ मंगलबार । तनहुँको व्यास नगरपालिका–३ स्थित बीपी वनवाटिका खेल मैदान संरक्षणको माग गर्दै जिल्लाका युवाले नगरपालिकाविरुद्ध कडा असन्तुष्टि पोखेका छन्। मङ्गलबार युवाको तर्फबाट भुवन गोशली नेतृत्वको टोलीले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै खेल मैदानलाई व्यापारिक प्रयोगबाट जोगाउन माग गरेको हो।

ज्ञापनपत्र बुझाउने क्रममा स्थानीय युवा वासु सापकोटाले निर्माणाधीन खेल मैदानमा महोत्सव गर्न दिनु खेल र खेलाडीमाथिको सीधा प्रहार भएको बताए। उनले खेल मैदानमा राजनीति र व्यापार घुसाउन नहुनेमा जोड दिँदै भने— “यो ठाउँ खेलकुदका लागि हो, भाषण, झण्डा र स्टलका लागि होइन। खेल मैदानलाई तहसनहस बनाउने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन।” उनले महोत्सवका नाममा मैदान क्षतविक्षत बनाउने कार्य तत्काल रोकिनु पर्ने स्पष्ट चेतावनी दिए।
व्यास नगरपालिकाले बीपी वनवाटिका खेल मैदानमा फेरि एकपटक महोत्सव गर्न अनुमति दिएपछि खेलप्रेमीहरू आक्रोशित बनेका छन्। नगर कार्यपालिकाको बैठक नं. २२७ ले नेपाल आदिवासी जनजाति जिल्ला समितिलाई पुस २४ देखि माघ ५ गतेसम्म महोत्सव गर्न दिने निर्णय गरेसँगै विवाद चर्किएको हो। खेलप्रेमीहरूले यो निर्णयलाई खेल पूर्वाधारभन्दा व्यापारलाई प्राथमिकता दिएको प्रमाण का रूपमा लिएका छन्।
खेलप्रेमीहरूका अनुसार, मैदान निर्माणका लागि हालसम्म ६० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। तर हरेक वर्ष ‘अन्तिम पटक’ भन्दै महोत्सव गर्न दिइँदा त्यो लगानी बालुवामा पानी हालेझैँ हुने खतरा बढेको छ।
अघिल्लो वर्ष मात्र १५ लाख खर्चेर गरिएको ड्रेनेज र ग्राउन्ड लेभलिङ अझै पूर्ण रूपमा सम्हालिन नपाउँदै पुनः स्टल, खाडल र भारी संरचना बनाइने तयारीले मैदानको भविष्य झन् अन्धकारतर्फ धकेलिएको खेलप्रेमीहरूको भनाइ छ।
एक स्थानीय खेलसमर्थकले आक्रोश पोख्दै भने— “गत वर्ष पनि अन्तिम भनियो, यस वर्ष पनि अन्तिम नै भनिँदैछ। अब अन्तिम वास्तवमै कहिले हुन्छ ? कि यो मैदान सधैं महोत्सवकै बन्दी बनाइने हो ?”
व्यास नगर खेलकुद समितिका संयोजक तथा वडा नं. ६ का अध्यक्ष जीवन गुरुङले समेत निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले भने— “मैले खेल मैदान महोत्सवका लागि दिनु हुँदैन भनेर स्पष्ट भनेको थिएँ। तर बोर्डले फेरि ‘अन्तिम पटक’ भन्दै निर्णय गरिदियो।”
खेलप्रेमीहरू भन्छन्, यदि अहिले पनि नगरपालिकाले निर्णय फिर्ता लिएन भने बीपी वनवाटिका खेल मैदानको पहिचान खेल मैदान होइन, महोत्सव स्थल मात्र बन्नेछ। उनीहरूले नगर नेतृत्वलाई विकासको नाममा विनाश नगर्न र खेलकुदको भविष्यसँग खेलबाड बन्द गर्न चेतावनी दिएका छन्।




















