हेडलाईनसमाचारप्रदेश

पद्मकन्यामा स्ववियु कक्षमै हातपात, शैक्षिक थलोमा अराजकताको नाङ्गो प्रदर्शन

प्रहार समाचार । काठमाडौं, १ पुस २०८२ मंगलबार । देशकै प्रतिष्ठित महिला क्याम्पसका रूपमा चिनिने पद्मकन्या बहुमुखी क्याम्पसमा शैक्षिक वातावरणमै प्रश्न उठ्ने गरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कक्षमै अराजक गतिविधि भएको छ।

स्ववियु पद्मकन्या बहुमुखी क्याम्पसका अनुसार यहि मंसिर २८ गते बिहान करिब ८ः४५ बजे स्ववियु कार्यकक्षमा नियमित छलफल भइरहेकै समयमा स्ववियु उपाध्यक्ष चन्द्रकला तामाङसहितको असम्बन्धित समूह जबर्जस्ती प्रवेश गरी स्ववियु सभापति, पदाधिकारी तथा सदस्यहरूमाथि हातपात, गालीगलौज, धम्की र अपशब्द प्रयोग गरिएको छ।

घटनाका क्रममा छलफलका लागि प्रयोग भइरहेको माइन्युटसमेत च्यातिएको भन्दै स्ववियुले यस घटनालाई “शैक्षिक मर्यादामाथिको गम्भीर आक्रमण”को संज्ञा दिएको छ।

विद्यार्थीहरूको क्षमता विकास, क्याम्पसका विकृति हटाउने तथा शैक्षिक प्रशासनलाई सबल बनाउने उद्देश्यले छलफल भइरहेको अवस्थामा भएको उक्त घटनाले क्याम्पसभित्र असहिष्णुता र अराजकता मौलाउँदै गएको संकेत दिएको स्ववियुको ठहर छ।

स्ववियु अध्यक्ष भूपेश्वी ऐर ( भूपि ) द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा शान्तिपूर्ण पठनपाठन हुनुपर्ने क्याम्पसमा यस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै क्याम्पस प्रशासनलाई निष्पक्ष छानबिन समिति गठन गर्न कडा माग गरेको छ।

“२४ घण्टाभित्र छानबिन समिति गठन गरी त्रिभुवन विश्वविद्यालयको नीति, नियम र विधि विधानअनुसार दोषीमाथि कारबाही गरियोस्,” विज्ञप्तिमा चेतावनीसहित भनिएको छ, “अन्यथा यस्ता अराजक गतिविधि दोहोरिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं क्याम्पस प्रशासनले लिनुपर्नेछ।”

यसैबीच, स्ववियु सदस्य चेतना नहर्कीले पनि सामाजिक सञ्जालमार्फत घटनाप्रति गम्भीर असन्तोष व्यक्त गरेकी छन्। उनले क्याम्पस भनेको शान्तिपूर्वक अध्ययन गर्ने स्थान भएको उल्लेख गर्दै संगठनात्मक नीति, नियम र उद्देश्यभन्दा माथि व्यक्तिगत स्वार्थ राखेर गरिने अराजक गतिविधि कुनै पनि रूपमा मान्य नहुने स्पष्ट पारेकी छन्।

“यस्तो अमानवीय व्यवहारको गहिरो छानबिन भई न्यायपूर्ण निष्कर्षमा पुग्नुपर्छ,” उनले लेखेकी छन्।

शैक्षिक संस्थाभित्रै विद्यार्थी संगठनबीच हुने यस्ता घटनालले केवल क्याम्पसको छवि धूमिल बनाउने, बरु सम्पूर्ण विद्यार्थी समुदायको भविष्य र विश्वासमाथि समेत चोट पुर्‍याउने सरोकारवालाहरूको भनाइ छ। अब क्याम्पस प्रशासनको कदमले पद्मकन्याको शैक्षिक मर्यादा जोगिन्छ कि झन् संकटमा पर्छ भन्ने चासो बढेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button