प्रहार समाचार । तनहुँ, २४ मंसिर २०८२ बुधबार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले जिल्लास्तरीय सत्रौँ राष्ट्रपति रनिङ शिल्ड–२०८२ तथा एन्फा U–14 छात्र अन्तर विद्यालय फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई आज विशेष सम्मान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा उपाध्यक्ष दुर्गा आचार्य, वडा नं. १ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता प्रेमबहादुर गुरुङ, शिक्षा समिति सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक–कर्मचारी र विद्यार्थीहरू उपस्थित थिए। जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेका विद्यार्थीहरूलाई २० हजार रुपैयाँ, द्वितीय स्थान प्राप्त समूहलाई १० हजार रुपैयाँ र तृतीय बन्न सफल समूहलाई ५ हजार रुपैयाँका साथै सम्मानपत्र प्रदान गरिएको थियो।

सम्मान कार्यक्रमा बोल्दै अध्यक्ष चुमानले भने, “खेलकुद र विद्यालय शिक्षाबीच सन्तुलन बनाएर खेलप्रति विद्यार्थीहरूलाई प्रोत्साहन गर्न चाहन्छौं। खेलले अनुशासन, टीमवर्क र नेतृत्व क्षमता विकास गराउँछ, त्यसैले स्थानीय तहबाट नै खेल अभ्यास र पूर्वाधार प्रवद्र्धन अपरिहार्य छ।” उनले आगामी दिनमा गाउँपालिकाले खेल पूर्वाधार विस्तार गर्ने र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जानकारी दिए।

त्यसैगरी, तनहुँ फुटबल संघद्वारा आयोजित एन्फा U–14 छात्र अन्तर विद्यालय फुटबल प्रतियोगिताका विजेताहरूलाई ३० हजार रुपैयाँ नगद र सम्मानपत्र दिँदै युवा फुटबल प्रतिभाको प्रोत्साहन गरिएको छ। गाउँपालिकाले सहभागी सबै विद्यार्थी, प्रशिक्षक र विद्यालयलाई बधाई ज्ञापन गर्दै भविष्यका प्रतियोगिताहरूमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ।
























