प्रहार समाचार । तनहुँ, २३ मंसिर २०८२ मंगलबार । तनहुँको भिमान नगरपालिका–७ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले नेकपा एमाले परित्याग गर्दै दुर्गा प्रसाई संयोजक रहेको राष्ट्र, राष्ट्रियता तथा देश बचाउ महाअभियानमा प्रवेश गरेपछि स्थानीय राजनीतिक वृत्तमा नयाँ तरङ्ग सुरु भएको छ।

हिंजो आयोजित कार्यक्रममा संयोजक प्रसाईले श्रेष्ठलाई खादा लगाएर औपचारिक रूपमा महाअभियानमा स्वागत गरे। सो अवसरमा श्रेष्ठले आफू भुइँमान्छेबाट उठेको उल्लेख गर्दै, शोषित–पिडित तथा अन्यायमा परेका जनताका मुद्दा एमालेले आत्मसात् गर्न नसकेकाले आफू बाध्य भएर महाअभियानमा आएएको बताए।

श्रेष्ठको प्रवेशसँगै सो कार्यक्रमलाई थप औपचारिक र स्थानीय संरचना विस्तारको चरणको रूपमा हेरिएको छ। त्यही क्रममा प्रसाईले व्यास नगर संयोजकमा जीवन शाहीलाई समेत स्वागत गर्दै महाअभियानको संगठन विस्तार तीव्र गतिमा अघि बढाएर तनहुँको बृहत् कार्यक्रम आयोजना गर्न निर्देशन दिए । ब
स्थानीय तहमा सत्तारुढ दलभित्रको असन्तुष्टि र विकल्प खोजीको संकेतका रूपमा श्रेष्ठको निर्णयलाई विश्लेषण गरिएको छ। महाअभियानले यतिबेला विभिन्न स्थानीय तहका अध्यक्ष तथा पूर्ववडाध्यक्ष सम्मलाई भित्र्याउने अभियान चलाइरहेको छ, जसको प्रभाव तनहुँमा पनि देखिन थालेको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।



























