प्रहार समाचार । तनहुँ, २३ मंसिर २०८२ मंगलबार । तनहुँमा सञ्चालन भइरहेको स्वर्णविन्दु प्राशन कार्यक्रमप्रति अभिभावकको आकर्षण बढ्दै गएको छ। प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीले सोमबार सम्पन्न गरेको दोस्रो चरणमै २ सय ८७ बालबालिकाले सेवा लिएका छन्। पहिलो चरणको अनुकूल परिणामपछि अभिभावकको विश्वास थप बढेपछि सहभागी संख्या उल्लेख्य बढेको चिकित्सालयले जनाएको छ।

बालबालिकालाई शारीरिक र बौद्धिक विकासमा सहयोग पुर्याउने मान्यताका साथ दिइने स्वर्णविन्दु प्राशन सेवा प्रदेश आयुर्वेद चिकित्सालयले एक वर्षदेखि पाँच वर्ष उमेर समूहलाई लक्षित गरी प्रदान गर्दै आएको हो। सोमबार बिहान ७ देखि १० बजेसम्म गरिएको प्राशन कार्यक्रममा २१२ जना नयाँ र ७५ जना पुराना बालबालिका सहभागी भएको कविराज निरीक्षक भोजहरी रानाभाटले जानकारी दिए।
नेपालका २५ जिल्लामा सुरु गरिएको यो कार्यक्रम हरेक महिनाको पुष्य नक्षत्रमा आयोजित गरिँदै आएको छ। तनहुँमा पहिलो चरण कात्तिक २५ गते सम्पन्न भएको थियो भने दोस्रो चरण सोमबार मंसिर २२ मा सम्पन्न भयो। अब पुस २१ गते तेस्रो चरण सञ्चालन गरिने प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डा. नारायण श्रेष्ठले बताए।
डा. श्रेष्ठका अनुसार स्वर्णभस्म, घिउ र महको उचित मात्रा मिसाएर तयार पारिने स्वर्णविन्दु चिकित्सकको प्रत्यक्ष निगरानीमा खुवाइन्छ। १–२ वर्ष उमेरका बालबालिकालाई दुई थोपा र २–५ वर्ष उमेरका बालबालिकालाई चार थोपा खुवाइने वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले जानकारी दिए।
स्वर्णविन्दु प्राशनले बालबालिकाको तौल र उचाइ वृद्धि, रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउने तथा बौद्धिक विकासमा सहयोग पुर्याउने विश्वास आयुर्वेद चिकित्सक डा. किरणचन्द्र पौडेल बताउँछन् । अ
चिकित्सालयका अनुसार शुरूवाती वर्ष भए पनि सेवा लिन आउनेको संख्या क्रमिक रूपमा बढ्दै गएकाले कार्यक्रम व्यवस्थापन झनै सहज र प्रभावकारी बन्दै जाने अपेक्षा गरिएको छ।



























