हेडलाईनसमाचारगण्डकी

चाडपर्वमा कालोबजारी र उपभोक्ता ठगी रोक्न पालुङटारको ठाँटीपोखरी बजारको अनुगमन

प्रहार समाचार । गोरखा, २६ असोज २०८३ सोमबार । चाडपर्वको मौका छोपेर हुने कालोबजारी, कृत्रिम अभाव, म्याद गुज्रिएका वस्तुको बिक्री र उपभोक्ता ठगी नियन्त्रण गर्न गोरखाको ठाँटीपोखरी बजारमा संयुक्त बजार अनुगमन गरिएको छ।

एकीकृत सेवा कार्यालय, गोरखा र पालुङटार नगरपालिकाको संयुक्त टोलीले बजार अनुगमन गर्दै व्यवसायीले बिक्री गर्ने दैनिक उपभोग्य वस्तुको गुणस्तर, मूल्यसूची, उत्पादन तथा उपभोग्य मिति र भण्डारण अवस्थाको निरीक्षण गरेको हो। चाडपर्वमा बढ्ने उपभोग्य वस्तुको मागलाई अवसर बनाएर उपभोक्ता लुट्ने प्रवृत्तिलाई निरुत्साहित गर्न अनुगमन गरिएको जनाइएको छ।अनुगमनका क्रममा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, वस्तुको मूल्य र गुणस्तरमा ध्यान दिइएको छ।

टोलीले व्यवसायीलाई प्रचलित कानुनअनुसार कारोबार गर्न, वस्तुको वास्तविक मूल्य कायम राख्न, मूल्यसूची अनिवार्य राख्न र म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री बिक्री नगर्न आग्रह गरेको छ। चाडपर्वको नाममा मनपरी मूल्य असुल्ने, कृत्रिम अभाव सिर्जना गर्ने र उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने प्रवृत्ति नियन्त्रण गर्न नियमित अनुगमनसँगै आवश्यक कानुनी कारबाहीसमेत प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ। उपभोक्ता ठग्ने छुट कसैलाई छैन भन्ने सन्देश प्रभावकारी बनाउन अनुगमनलाई निरन्तरता दिनुपर्ने देखिन्छ।

बजार स्वच्छ र व्यवस्थित बनाउने जिम्मेवारी सरकारी निकायमा मात्र सीमित नभई व्यवसायी र उपभोक्ता पनि उत्तिकै जिम्मेवार हुनुपर्छ। नगरपालिकाले सामान खरिद गर्दा मूल्यसूची हेर्न, उत्पादन तथा उपभोग्य मिति जाँच गर्न र अनिवार्य रूपमा बिल लिन उपभोक्तालाई आग्रह गरेको छ। कालोबजारी, अनुचित मूल्य असुली वा गुणस्तरहीन वस्तुको बिक्री भएको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ। अनुगमनलाई औपचारिकतामा सीमित नगरी दोषीमाथि कारबाही र बजारको निरन्तर निगरानी गर्न सके मात्र चाडपर्वमा उपभोक्ता ठगी नियन्त्रण गर्न सकिनेछ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button