प्रहार समाचार । तनहुँ, २६ असोज २०८३ सोमबार । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा उकालोमा ब्याक भएको बोलेरो जिप सडकबाट करिब सात मिटर तल नालीमा खस्दा एक महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

आज साँझ बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा आँबुखैरेनी गाउँपालिका–६ खापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङको मृत्यु भएको हो। गम्भीर घाइते गुरुङलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पुर्याइएकामा चिकित्सकले साँझ ६ बजेर २० मिनेटमा मृत घोषणा गरेका थिए। दुर्घटनामा सोही स्थानका ४९ वर्षीय तोकबहादुर गुरुङ र ६९ वर्षीय बकुलाल गुरुङ मध्यम घाइते भएका छन्। त्यस्तै, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्बिका गुरुङ, ३५ वर्षीय सानोकान्छा गुरुङ र १६ वर्षीया रिश्मा गुरुङ घाइते भएका छन्।

घाइतेमध्ये रिश्माको टाउकोमा चोट लागेको छ भने अन्यको हात तथा खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरू सबैलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको थियो। प्रहरीका अनुसार बुधबार साँझ करिब ५ बजेर ४५ मिनेटमा उकालो सडकमा ब्याक भएको बोलेरो सडकको छेउबाट करिब सात मिटर तल नालीमा खसेको थियो। दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमान्डमा ट्राफिक प्रहरीसहित १० जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले बोलेरो चालक आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ३३ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
























