प्रहार समाचार । धनकुटा, २२ मंसिर २०८२ सोमबार । धनकुटाको पाख्रीबास नगरपालिका– प्रशासनिक अस्थिरताले थकित भएपछि एक अनौठो, व्यङ्ग्यात्मक तर कटाक्षले भरिएको पत्रले अहिले चर्चा बटुलेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सम्बोधन गरिएको पत्रमा नगरप्रमुख ज्ञानबहादुर गुरुङले बारम्बार प्रमुख प्रशासकीय अधिकृत फेरिने क्रममा नगरको कामकाज अस्तव्यस्त भएको पीडा उजागर गरेका छन् ।

मन्त्रालयको प.सं. २०८२/०८३ तथा च.नं. १०१७ र १०४७ को पत्र बमोजिम विवरण बुझ्दै नगरप्रमुखले उल्टै प्रश्न उठाएका छन्— “धान फल्न, दही जम्न, गाई भैसी व्याउन, दूध उत्पादन गर्न, फलफूल पाक्न र बजारसम्म पुग्न कुनै बाधा छैन, तर प्रशासन चल्न भने दिनदिनै नयाँ अधिकृत किन चाहिन्छ ?” नगरकै यथार्थतालाई व्यङ्ग्य बनाएर लेखिएको यो पत्र ‘कागजमा व्यवस्था स्थिर, व्यवहारमा प्रमुख प्रशासकिय अधिकृत अस्थिर’ को ज्वलन्त उदाहरण बनेको छ।
नगरपालिकाले पछिल्ला महिनामा ‘हिजो आएको अधिकारी आजै सरुवा हुने’ प्रवृत्तिले न योजनामा निरन्तरता पाइने, न फाइल अघि बढ्ने अवस्थाको गुनासो गर्दै आएको थियो। यही हैरानीले आजित भएपछि नगरप्रमुखले मन्त्रालयलाई ‘सम्भव भए दैनिक नै एक/एक जना अधिकृत पठाइदिन पनि सक्नुहोला, नगरको काम रोकिँदैन’ भन्ने कड्किएको शैलीमा प्रतिवाद गरेका छन्। हेरौँ पत्र :

पत्रको प्रतिलिपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पाख्रीवास नगर कार्यपालिकालाई समेत पठाइएको छ। स्थानीय तहमा प्रशासनिक स्थिरता कति मोठो समस्या बनेको छ भन्ने देखाउने यो व्यङ्ग्यात्मक पत्र अहिले स्थानीय तह र प्रशासनिक वृत्तमा व्यापक चर्चा–बहसको विषय बनेको छ।




















