प्रहार समाचार । तनहुँ, २२ मंसिर २०८२ सोमबार । नेपाली कांग्रेस तनहुँमा राष्ट्रिय सभा सदस्यका लागि सात जनाले नाम दर्ता गराएका छन्। केन्द्रीय समितिले निर्वाचन तयारीअन्तर्गत जिल्लालाई उम्मेदवार सिफारिस पठाउन निर्देशन गरेपछि तनहुँमा इच्छुक नेताहरूले आफ्नो दाबी स्वरूप नाम दर्ता गरेका हुन् ।

दर्ता भएका नामहरू मंसिर २४ गतेभित्र केन्द्रमा सिफारिस पठाइनेछ। निर्धारित समयसीमाअनुसार सबै नाम संकलन गरिएको छ र अब जिल्ला स्तरबाट छलफल गरी सिफारिस पठाइने नेपाली कांग्रेस तनहुँले जनाएको छ ।
उम्मेदवारका रूपमा नाम दर्ता गर्नेमा कुलचन्द्र वाग्ले, अर्जुन अधिकारी, लक्ष्मी आचार्य, प्रा. डा. कृष्ण प्रसाद गौतम, रघुनाथ पौडेल, विद्या खनाल र ध्रुव वाग्ले रहेका छन्। जिल्लामा पुराना तथा नयाँ दुवै पुस्ताका नेताहरूको उपस्थिति देखिएको यस प्रतिस्पर्धालाई आगामी सिफारिसले कुन दिशा दिने हो भन्ने उत्सुकतापूर्वक हेरिएको छ।




















