प्रहार समाचार । काठमाडौँ, २२ मंसिर २०८२ सोमबार । आगामी प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा निर्वाचन आयोगले राजनीतिक दललाई प्रदान गरिने चुनाव चिह्नको सूची सार्वजनिक गरेको छ। आयोगका अनुसार प्राप्त १ सय २० निवेदनमध्ये १३ खारेज गर्दै १ सय १४ दललाई चुनावमा भाग लिन अनुमतिपत्र प्रदान गरिएको हो।

आयोगले १ सय २ दललाई एकल रूपमा प्रतिस्पर्धा गर्न छुट्टाछुट्टै चिह्न प्रदान गरेको छ भने १२ दलले विभिन्न समूह बनाएर संयुक्त रूपमा पाँचवटा चिह्न प्रयोग गर्ने भएका छन्। सोही आधारमा आयोगले कुल १ सय ७ वटा चुनाव चिह्न उपलब्ध गराएको जनाएको छ।
आयोगले सार्वजनिक गरेको सूचीमा ‘सूर्य’ पहिलो नं, ‘रुख’ दोस्रो नं, ‘तारा’ तेस्रो नं र ‘घण्टी’ चौथो अग्रक्रममा परेका छन्। बाँकी दलले आफ्ना पूर्वनिर्धारित वा समायोजन गरिएको चिह्न लिएर चुनावी मैदानमा उत्रने आयोगले स्पष्ट पारेको छ।
आगामी चुनावमा दलहरूको संख्या उच्च रहेकाले प्रतिस्पर्धा चर्किने अनुमान गरिएको छ भने मतदाताले ठूलो संख्याका चिह्नबीच आफूअनुकूलको दल पहिचान गर्न सजिलै पढिने र बुझिने चिह्नले महत्वपूर्ण भूमिका खेल्ने विश्लेषकहरूले बताउँदै आएका छन्।






















