हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

बारम्बार अवसर गुमाएका गुरुङको अठोट : तनहुँ–१ मा जनजाति नेतृत्व अघि सार्दै प्रत्यक्ष चुनावी मैदानमा उत्रने

प्रहार समाचार । तनहुँ, २१ मंसिर २०८१ आइतबार । नेपाली कांग्रेसभित्र लामो समयदेखि सक्रिय रहेर पनि निरन्तर पछाडि पारिएका तनहुँका युवा नेता रेशम गुरुङले यसपालि भने जनजाति समुदायको उचित प्रतिनिधित्वका लागि तनहुँ–१ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने घोषणा गरेका छन्। संगठनमा लामो योगदान दिए पनि अवसर नपाएको गुनासो गर्दै उनले पार्टी नेतृत्वलाई जनजातिको आवाज सम्बोधन गर्न आग्रह गरेका छन्।


नेपाली कांग्रेस तनहुँका पूर्व कोषाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि रेशम गुरुङले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तनहुँ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी तीव्र पारेका छन्। दशकौँअघि काठमाडौँमा विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा तनहुँको कोषाध्यक्षसम्म पु¥याएका गुरुङले संगठनमा सक्रियता, नेता–कार्यालयसँगको निकटता र समुदायको योगदानका बाबजुद निरन्तर अवसरबाट वञ्चित हुँदै आएको बताउँदै आएका छन् ।

तनहुँमा गुरुङ समुदायको ठूलो जनसंख्या, २००७ सालदेखि हालसम्म १५ जना गुरुङ शहीदको योगदान र समुदायको लामो भूमिकालाई समेत पार्टीले पर्याप्त रूपमा सम्बोधन नगरेको स्थानीयहरूको भनाइ छ। गुरुङले २०७४ र २०७९ को स्थानीय तह चुनावमा बन्दिपुर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने इच्छा राखे पनि पार्टीले टिकट नदिँदा पछि हट्नु परेको थियो। प्रदेशसभा निर्वाचन र महाधिवेशनमा समेत अवसर नपाएको गुनासो गर्दै उनले यसपटक “जनजातिको प्रतिनिधित्व फेरि उपेक्षित हुन नदिने” दाबी गर्छन् ।

सभापति शेरबहादुर देउवा र राष्ट्रपति रामचन्द्र पौडेल दुवैसँग निकट रहेर पनि गुटगत राजनीतिमा नफसिएका गुरुङ ‘नयाँ पुस्ताको नेतृत्व’ अघि सार्ने मनसाय व्यक्त गर्छन्। “गत निर्वाचनमा जनजातिको प्रतिनिधित्व नहुँदा प्रत्यक्ष असर पर्‍यो,” उनले भने, “अब सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न मैले आफैं अग्रसरता लिनैपर्छ।”

क्षेत्र नं. १ को दक्षिणी भेगबाट अहिलेसम्म कांग्रेसले न प्रदेशसभा न संघीय तहमा प्रतिनिधित्व पाउन सकेको उल्लेख गर्दै गुरुङले यसपटक जनजाति समुदायको आवाज, योगदान र अधिकार तथा जेन्जी आन्दोलनको मर्मलाई समेत समेटेर चुनावी एजेन्डाको केन्द्रमा राखेर अगाडि बढ्ने जिकिर गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button