प्रहार समाचार । सलीही, २१ मंसिर २०८२ आइतबार । सामाजिक सेवा र मानवतावादी कार्यको प्रतिक मानिने नेपाल रेडक्रस सोसाइटीको नाममा दर्ता गरिएको एम्बुलेन्स गाँजा तस्करीमा उपयोग भएको घटना सार्वजनिक भएपछि सुरक्षा संयन्त्रदेखि प्रहरी चेकजाँच प्रणालीसम्म नै गम्भीर प्रश्न उठेको छ। पवित्र संस्थाको नाम दुरुपयोग हुँदै लागूऔषध ओसारपसार हुनुले मुलुकको नियामक संरचना कति खुकुलो छ भन्ने कटु यथार्थ उजागर गरेको छ।

प्राप्त समाचार अनुसार सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट ५१ किलो गाँजा बोकेको ज१च १५५८ नम्बरको रेडक्रस एम्बुलेन्स आज बिहान प्रहरीले नियन्त्रणमा लिएपछि तस्करीको उच्च जोखिममा रहेका ‘रेडक्रसका सवारीसाधन’ समेत अपराधीकृत भइरहेको तथ्य बाहिर आएको हो ।
गोप्य सूचनाका आधारमा भएको कारबाहीमा रौतहट, यमुनामाई गाउँपालिका–४ का ३७ वर्षीय चालक सुरेन्द्र राय यादव समेत पक्राउ परेका छन्। समाज सेवामा समर्पित संस्थाको गाडीबाट प्रतिबन्धित पदार्थ ओसारिएको तथ्य आफैंमा गम्भीर सुरक्षा कमजोरीको संकेत भएको प्रहरी स्रोत बताउँछ।
यस्तै, आज नै सर्लाहीकै लालबन्दी नगरपालिका–११ हिरापुरबाट २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित पक्राउ गरेपछि जिल्लामा लागूऔषध तस्करीको जालो अझ फैलिएको देखिएको छ। एम्बुलेन्सजस्ता छूटप्राप्त सवारीसाधन नै तस्करीका लागि ‘सुरक्षित मार्ग’ बन्न थालेपछि प्रहरीको निगरानी, नाकाबन्दी र चेकजाँच प्रक्रिया प्रभावहीन हुँदै गएको तथ्य थप स्पष्ट भएको छ। प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरू विरुद्ध कडा कारबाही प्रक्रिया अघि बढाउँदै सर्वसाधारणलाई पनि शंकास्पद गतिविधिमाथि समयमै सूचना दिन आग्रह गरेको छ।



























