प्रहार समाचार । तनहुँ, २० मंसिर २०८२ शनिबार । तनहुँको म्याग्दे गाउँपालिका–४, मणि युवा क्लवको आयोजनामा भइरहेको मणि कप समापन समारोह शनिबार विशेष आकर्षणका साथ सम्पन्न भयो । समारोहको प्रमुख आकर्षण बनेको कालिका मोइ समूह र चण्डेश्वरी कृषि समूहबीचको मैत्रीपूर्ण फुटबल खेललाई स्थानीय दर्शकले उत्साहपूर्वक हेरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा कालिका मोइ समूहले उत्कृष्ट प्रदर्शन गर्दै चण्डेश्वरी कृषि समूहलाई पराजित गर्न सफल भएको थियो । खेलभरि दुवै टोलीबीच मनमैत्री प्रतिस्पर्धा भए पनि कालिकाले निर्णायक गोल गर्दै जित सुरक्षित गरेको आयोजकले जनाएको छ ।
विजयी टोलीलाई सम्मान गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पाँच किलो तौलको भाले हस्तान्तरण गरेका हुन् । उनले आमा समूहहरूको ऊर्जा र खेलप्रति समर्पण को प्रशंसा गर्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । समापन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलकुदप्रेमी र समुदायका अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
























