प्रहार समाचार । तनहुँ, २० मंसिर २०८२ शनिबार । महाभारत पर्वतशृङ्खलाको २ हजार १ सय ३४ मिटर उचाइमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिका अन्तर्गत पर्ने बुढीदेवी–छिम्केश्वरी मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्रै होइन, दुर्लभ हिमाल दृश्यदेखि सुर्योदय–सुर्यास्तसम्म आत्मालाई स्पर्श गर्ने अद्भुत स्थलका रूपमा उदाउँदै गएको छ ।

महाभारत पर्वतशृङ्खलाको सबभन्दा उच्च भागमा अवस्थित बुढीदेवी–छिम्केश्वरी मन्दिर पछिल्ला वर्षमा पर्यटक र भक्तजनको समान आकर्षणको केन्द्र बन्दै गएको छ । समुन्द्री सतहबाट २ हजार १ सय ३४ मिटरको उचाइमा रहेको यो मन्दिर परिसरमा पुग्ने जो–कोहीले देवीहरूको सामिप्यमा विशेष आन्तरिक शान्ति र आध्यात्मिक आनन्द अनुभूति गर्ने बताउँछन् ।
मन्दिरको ठीक पछाडितर्फ देखिने हिमालतिर उक्लँदै जाँदा अत्यन्तै दुर्लभ रुपमा महादेव भगवानको स्पष्ट, प्राकृतिक र अलौकिक आकृति देखिने दाबी स्थानीयहरूले गर्दै आएका छन् । प्राकृतिक रूपमा बनेको त्यो आकृतिलाई भक्तजनले विशेष चमत्कारिक स्वरूपका रूपमा लिने गरेका छन् ।

त्यसैगरी, परिसरबाट चारैतिर फैलिएको ३ सय ६० डिग्री दृश्यावलीले आगन्तुकलाई झनै मोहित बनाउँछ । अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु लगायतका हिमालहरू नजिकैबाट देखिने यो स्थान सूर्योदय र सुर्यास्त अवलोकन गर्नका लागि पनि उत्तिकै उपयुक्त मानिन्छ । बिहानको पहिलो किरण र बेलुकाको सुनौलो अस्त–छायाले यहाँको प्राकृतिक सुन्दरता झनै रंगीन बनाइदिन्छ ।

बुढीदेवी–छिम्केश्वरी पुग्ने धेरै आगन्तुकको अनुभवमा, यहाँका बादलहरुसँग रमाउँदै केही मिनेट बसे मात्र पनि मन हल्का, तनाव विहीन र आनन्दित हुने अनुभूति मिल्ने पालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले यस क्षेत्रको बिकासमा पालिका लागिपरेको उल्लेख गरे । म अध्यात्म, प्रकृति र शान्त वातावरणको अद्भुत संयोजन भनेर चिनिने यो क्षेत्रमा संरचनागत सुविधा थपिए पर्यटकीय सम्भावना अझ प्रशस्त रहेको स्थानीयहरू बताउँछन् ।


























