• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, १९ मंसिर २०८२ शुक्रबार । लमजुङको बेसीशहरमा पूर्व प्रहरी हवलदार सिता कँडेलको विभत्स हत्या गरी भारत फरार भएका ४७ वर्षीय बुद्धिराम दराई पक्राउ परेसँगै आठ महिनादेखिको रहस्य खुलेको छ।

लमजुङको बेसीशहर–२ भकुण्डेमा गत चैत २७ गते पूर्व प्रहरी हवलदार सिता कँडेलको घरभित्र बक्स-पलङको बिस्तारा मुनी त्रिपालले बेरिएको अवस्थामा फेला परेको शवको हत्यारा आठ महिनापछि पक्राउ परेको छ। घरबाट दुर्गन्ध आएपछि स्थानीयले दिएको सूचनामा पुगेको प्रहरीले घटनालाई विभत्स हत्या ठहर गरी केन्द्रीय अनुसन्धान ब्यूरोलाई समेत खटाएको थियो। प्राविधिक तथा स्थलगत अनुसन्धानबाट चितवन रत्ननगर–६ का बुद्धिराम दराई सो घटनामा संलग्न रहेको पुष्टि भएको थियो।

दराई अपराध इतिहास बोकेको व्यक्ति हुन्। उनले २०६७ कात्तिकमा गोरखा फिनामकी ५३ वर्षीया चिनीमाया पाण्डे–जो दराईकी छोरी मनुकासँग विवाहसम्बन्धी विवादका कारण–लाई घाँटी थिचेर हत्या गरेका थिए। गोरखा जिल्ला अदालतले २०६८ सालमा उनलाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । सजाय भोगिरहेको समयमा दराईको मृतक सिता कँडेलसँग भिमफेदी कारागारमा परिचय भएको र सम्बन्ध विस्तार हुँदै गएको प्रहरीले जनाएको छ।

लमजुङ जिल्ला अदालतले मिति २०८२ बैशाख १५ मा दराईविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी भारतका विभिन्न शहरमा लुकीछिपी बस्दै आएका थिए। लामो खोजीपछि सीआईबी टोलीले उनलाई २०८२ मंसिर १८ गते रूपन्देहीको बेलहिया नाका क्षेत्रमा पक्राउ गरी लमजुङ प्रहरीसमक्ष बुझाए सङ्गै आज पत्रकार सम्मेलन मार्फत उनलाई सार्वजनिक गरिएको हो। प्रहरीले घटनाको प्रकृति र इतिहास हेर्दा दराईलाई योजनाबद्ध रूपमा हत्यामा संलग्न रहेको ठहर गर्दै विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।
























