प्रहार समाचार । तनहुँ, १९ मंसिर २०८२ शुक्रबार । ‘पहाडकी रानी’ उप नामले परिचित तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा चीनको ग्रेटवालको झल्को दिने नयाँ आकर्षण थपिएको छ—थानीमाई मन्दिरदेखि चुलीडाँडासम्म फैलिएको मुकुन्देश्वरी पदमार्ग।

पत्थरले उत्कीर्ण गरिएका पर्खाल, घुमाउरा सडक र वरिपरिका दृश्यावलोकन गर्दै हिंड्न सकिने यो पदमार्ग पछिल्लो समय बन्दीपुर आउने पर्यटकको मुख्य लोभलाग्दो गन्तव्य बनिरहेको छ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा पदमार्गले स्थानीय पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा भरिदिएको बताए । “यो संरचना केवल हिँड्ने बाटो मात्र होइन, बन्दीपुरको ऐतिहासिक र प्राकृतिक सुन्दरताको नयाँ पहिचान हो,” उनले बताए। पदमार्ग तयार भएपछि आन्तरिक तथा बाह्य पर्यटक दुवैको आकर्षण बढेको उनले उल्लेख गरे।

आगामी योजनाबारे जानकारी दिंदै अध्यक्ष थापाले मुकुन्देश्वरी डाँडास्थित गढीसम्म पदमार्ग विस्तार गर्न तयारी भइरहेको बताए। “पदमार्गलाई थानीमाईदेखि गढीसम्म पहुँचयोग्य बनाउने लक्ष्य छ, जसले बन्दीपुर पर्यटनलाई अझ समृद्ध बनाउनेछ,” उनले भने।
























