प्रहार समाचार । तनहुँ, १९ मंसिर २०८२ शुक्रबार । नेपाल बार एसाेसिएसन तनहुँका पूर्व अध्यक्ष तथा मिजार समाज सेवा समूह दमौलीका निवर्तमान अध्यक्ष अमृत बहादुर नेपालीलाई मातृ शोक परेको छ। उनको आमा बिष्णुमाया रुचालको ७२ वर्षको उमेरमा आज बिहान घरमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ। विष्णुमायाँ केहि महिना पहिले देख आन्द्राको क्यन्सरबाट पिडित थिइन।

रुचालको निधनले कानुन व्यवसायी र सामाजिक क्षेत्रमा सक्रिय अमृत नेपाली नजिकको समुदायमा पनि शोकको छायाँ फैलिएको छ। स्थानीयवासी, समाजसेवी र मिजार समाजका पदाधिकारीले नेपाली परिवारप्रति संवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि प्रार्थना गरेका छन्।
उनको पार्थिव शरीरलाई आजै सेतीमादीस्थित दमौलीघाटमा अन्तिम श्रद्धाञ्जली सहित दाहसंस्कार गरिएको मिजार समाजका अध्यक्ष बाबुराम नेपालीले जानकारी दिए। दाहसंस्कारमा विभिन्न क्षेत्रका प्रतिनिधि, आफन्त र सदरमुकाम क्षेत्रका नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो।



























