• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ , १८ मंसिर २०८२ बिहीबार । अपाङ्गता भएका व्यक्तिका हकहित संरक्षण र समावेशी समाज निर्माणका संदेशसहित ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस लमजुङमा विविध कार्यक्रमका साथ हिंजो सम्पन्न गरिएको छ। जिल्लालाई समावेशी सेवाको केन्द्रका रूपमा विस्तार गर्ने लक्ष्यसहित आयोजित दिवसमा सरोकारवालाहरूले अधिकार, पहुँच र प्रतिवद्धताका विषयमा जोड दिए।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी डा. टोपराज पाण्डेले स्थानीय तहले कम्तीमा १० प्रतिशत बजेट अपाङ्गता क्षेत्रमा छुट्याउनैपर्ने आवश्यकता औँल्याए। उनले अपाङ्गता भएका व्यक्तिले पाउने सहयोग–सामग्री अधिकारका रूपमा सुनिश्चित भएकाले त्यसमा कुनै सम्झौता अस्वीकार्य हुने बताए।
दिवसकै अवसरमा लमजुङमा अपाङ्गता अभियानमा क्रियाशील व्यक्तिहरूलाई सम्मान गरिएको थियो। दुई दशकदेखि यातायात क्षेत्रमा रहँदै अपाङ्गता भएका व्यक्ति मैत्री सेवामा सक्रिय पृथ्वीराजमार्ग बस व्यवसायी समिति (माइक्रो) कार्यालय, बेसीशहरका काउन्टर इन्चार्ज रमेश केसीलाई सम्मानपत्र र दोसल्ला अर्पण गरिएको थियो।
कार्यक्रममा एकीकृत सेवा केन्द्र, बेसीशहरको सहयोगमा छापिएको ‘यातायातमा अपाङ्गता भएका व्यक्तिका लागि आरक्षण तथा छुट’ स्टिकर ट्राफिक प्रहरीले हस्तान्तरण गरिएको जानकारी दिइयो। यसले सार्वजनिक यातायातमा अपाङ्गता मैत्री सेवा सुनिश्चिततामा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा बेसीशहर नगरपालिका उप प्रमुख पदमा गुरुङ, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोजसिंह बोहरा सहित सरोकारवाला निकायका प्रतिनिधि सहभागी भएका थिए।



























