प्रहार समाचार । काठमाडौँ १८ मंसिर २०८२ बिहीबार । नासाको जेम्स वेब स्पेस टेलिस्कोप (JWST) मार्फत खगोलशास्त्रीहरूले पृथ्वीबाट करिब १२ अर्ब प्रकाशवर्ष टाढा एक अत्यन्त पुरानो र सुगठित चक्राकार आकाशगङ्गा पत्ता लगाएका छन्। तस्बिर : सामाजिक संञ्जाल

भारतकी अनुसन्धानकर्ता राशि जैनको नेतृत्वमा गरिएको अध्ययन एस्ट्रोनमी एन्ड एस्ट्रोफिजिक्स मा प्रकाशित छ, जहाँ ब्रह्माण्डको प्रारम्भिक युगमै मिल्की वे जस्तै सुव्यवस्थित संरचना भेटिनुले वैज्ञानिकहरू आश्चर्यचकित बनेका छन्। हिमाली नदी ‘अलकनन्दा’को नामबाट प्रेरित यो आकाशगङ्गा बिग ब्याङपछि करिब १.५ अर्ब वर्षमै यस्तो परिपक्व आकार लिन सक्नु सामान्य वैज्ञानिक बुझाइका हिसाबले असामान्य मानिन्छ।
ग्यालेक्सीको दुई स्पष्ट चक्राकार बाँहहरू, उज्यालो केन्द्र तथा स्थिर संरचनाले अलकनन्दालाई प्रारम्भिक ब्रह्माण्डको दुर्लभ र अत्यन्त शक्तिशाली ‘ब्रह्माण्डीय शक्ति केन्द्र’का रूपमा चिनाएको अनुसन्धानकर्ताहरू बताउँछन्। प्रारम्भिक कालखण्डमा आकाशगङ्गाहरू प्रायः अनियमित, अस्थिर र साना हुने वैज्ञानिक धारणा रहेको भए पनि अलकनन्दा जस्तो सुव्यवस्थित डिस्क–ग्यालेक्सीको अस्तित्वले ब्रह्माण्डमा जटिल संरचना अपेक्षाभन्दा धेरै पहिला नै विकसित भएको देखाउँछ।
यो खोजले ग्यालेक्सी निर्माण, तारा विकास र प्रारम्भिक ब्रह्माण्डको गतिशीलतासम्बन्धी पछिल्ला स्थापित मोडेलहरू पुनर्विचार गर्नुपर्ने अवस्था ल्याएको वैज्ञानिकहरूको निष्कर्ष छ। अनुसन्धानकर्ताहरूले अलकनन्दा ग्यालेक्सीले ब्रह्माण्डको इतिहास बुझ्ने हाम्रो दृष्टिकोण नै बदल्न सक्ने उल्लेख गर्दै यसको थप स्पेक्ट्रोस्कोपिक अध्ययन आवश्यक रहेको बिबिसिले जनाएको । छ



























