• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, १८ मंसिर २०८२ बिहीबार । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि लमजुङबाट प्रतिनिधि चयन गरिएको छ। जिल्लामा सम्पन्न आन्तरिक प्रक्रियाबाट खुल्ला, महिला, युवा र दलितसमेत विभिन्न समूहबाट प्रतिनिधि निर्वाचित भएका छन्।

पार्टी स्रोतका अनुसार खुल्लातर्फ सुभाष पौडेल, कृष्णप्रसाद अधिकारी, युवराज अधिकारी र राजकुमार विष्ट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। त्यसै गरि महिलातर्फ पदमा गुरुङ, यशोदा रिमाल तथा लक्ष्मीदेवी अधिकारीले प्रतिनिधित्व पाएका छन्।
यस्तै युवा कोटामा ४० वर्ष उमेर समूहभित्र परेका जुनबहादुर तामाङ ‘पपुलर भोट’सहित विजयी भएका छन्। दलिततर्फ हिरालाल विक र नन्दराम विक महाधिवेशन प्रतिनिधिको रूपमा चयन भएका छन्।
आगामी महाधिवेशनमा लमजुङले प्रस्तुत गर्ने राजनीतिक, संगठनात्मक तथा नीति–कार्यदिशासम्बन्धी धारणा तयार पार्न प्रतिनिधिहरूले अब तयारी थाल्ने जनाइएको छ।



























