प्रहार समाचार । तनहुँ , १६ मंसिर २०८२ मंगलबार । तनहुँको भानु नगरपालिका–५ बारीफाँटमा रहेको नारायणी आधारभूत विद्यालयले अब सुरक्षित र आधुनिक भवन पाएको छ । नेपालका दुर्गम क्षेत्रका विद्यालयमा पूर्वाधार विस्तारमा सक्रिय युनाइटेड वल्र्ड स्कुल (युडब्लुएस) ले निर्माण गरेको ११ कोठे नवनिर्मित भवन सोमबार औपचारिक रूपमा विद्यालय समुदायलाई हस्तान्तरण गरिएको हो ।

जीर्ण अवस्थाको भवनमा जोखिम मोलेर पढ्दै आएका २ सय ११ विद्यार्थीका लागि सहज शैक्षिक वातावरण तयार गर्न युडब्लुएसले पहल गरेको विद्यालय परिचालक सुनिल श्रेष्ठले बताए । नयाँ भवन निर्माणमा दुवई कलेजको समेत महत्वपूर्ण आर्थिक सहयोग रहेको उनले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा दुवई कलेजका १४ प्रतिनिधि तथा युडब्लुएस तनहुँका प्रमुख सिदार्थ योञ्जन सहभागी थिए ।
भवन हस्तान्तरण भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीको उपस्थिति रहेको थियो । बालमैत्री कक्षा कोठा, शौचालय तथा खानेपानीको समेत व्यवस्था गरिएको भवनले विद्यार्थीको सिकाइ वातावरणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख त्रिपाठीले दाता संस्थाप्रति आभार व्यक्त गर्दै नगरपालिकाले शिक्षा विकासका योजनामा निरन्तर साथ रहने प्रतिबद्धता जनाए । विद्यालयका प्रधानाध्यापक गणेशराज पन्त, युडब्लुएसका संस्थापक सूर्य कार्की तथा दुवई कलेजका प्रतिनिधिहरुले सहयोगले विद्यालयको अवस्था सुधारेर समुदायमै सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सांस्कृतिक कार्यक्रम तथा विभिन्न अतिरिक्त गतिविधिहरू समेत आयोजना गरिएको थियो ।





















