प्रहार समाचार । तनहुँ, १६ मंसिर २०८२ मंगलबार । प्रसिद्ध धार्मिक आस्थाको धरोहर तनहुँको थानीमाई मन्दिरलाई प्लास्टिकमुक्त बनाउने उद्देश्यसहित व्यास–४ का सरसफाई अभियन्ता भाग्यशाली ढुङ्गाना सक्रिय भएपछि मन्दिर क्षेत्रमा वातावरणीय चेतना बढ्न थालेको छ ।

अभियन्ता ढुङ्गनाले आज थानीमाई मन्दिर पुगेर मन्दिर संरक्षण समितिका अध्यक्ष जिवन थापालाई भेट्दै ‘प्लास्टिक नफालौँ, मन्दिर बचाऔँ’ भन्ने सन्देशसहितको व्यानर हस्तान्तरण गरे ।

मन्दिर परिसर र बाटोभरि श्रद्धालु भक्तजनले प्रयोग गर्ने प्लास्टिकका झोला, पानीका बोतल, धूप–बत्तीका प्याकिङ लगायतका फोहोरले प्रदूषण बढ्दै गएको भन्दै उनले सरोकारवालालाई सक्रिय हुन आग्रह गरे ।

ढुङ्गानाले भने- ‘पवित्र स्थान सफा राख्नु हाम्रो साझा जिम्मेवारी हो । प्रत्येक भक्तजनले आफ्नो प्लास्टिक फोहोर आफैँसँगै लगेर उचित ठाउँमा बिसर्जन गरे वातावरण पनि जोगिन्छ मन्दिरको सुन्दरतामा पनि बृद्धि हुन्छ ।’

उनका अनुसार पछिल्ला वर्षहरूमा मन्दिर आसपास प्लास्टिकजन्य फोहोर अनियन्त्रित रूपमा बढ्न थालेपछि स्थानीयको गुनासो पनि तीव्र बनेको छ । उनले समुदाय, युवाहरू र स्थानिय स्वयंसेवी समूहलाई समन्वयमा ल्याई ‘प्लास्टिक न्यूनीकरण अभियान’लाई दीर्घकालीन रूपमा अगाडि बढाउने सुझाए ।

यता, मन्दिर संरक्षण समितिका अध्यक्ष जिवन थापाले अभियानप्रति सकारात्मक हुँदै भने -‘थानीमाई मन्दिर हाम्रो आस्था, संस्कार र पहिचान हो । यसलाई स्वच्छ राख्न अब समिति नियमित अनुगमन र चेतनामूलक सूचना टाँस्ने कार्य अघि बढाउनेछ ।’ उनले सबै भक्तजन र स्थानीयलाई साना–साना व्यवहारबाटै ठूलो परिवर्तन ल्याउन आग्रह गरे ।

कार्यक्रमअन्तर्गत ढुङ्गानाले प्रदान गरेको व्यानर मन्दिर प्रवेशद्वारमा राखिएको छ । ‘प्लास्टिक नफालौँ, मन्दिरलाई सफा–सुन्दर बनाऔँ’ भन्ने सन्देशले भक्तजनलाई वातावरणीय दायित्वप्रति थप प्रेरित गर्ने विश्वास लिइएको छ ।
थानीमाई मन्दिरलाई स्वच्छ, सुन्दर र प्लास्टिकमुक्त बनाउने उद्देश्यले सुरु भएको यो पहल समुदायको साथ र निरन्तरतामा निर्भर रहने निश्चित छ।
























