प्रहार समाचार । तनहुँ, १५ मंसिर २०८२ सोमबार । व्यास नगरपालिका बजार अनुगमन समितिले भदौ १८ गतेदेखि २३ गतेसम्म गरिएको अनुगमनका क्रममा भेटिएका म्याद नाघेका उपभोग्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले ७३ हजार ८०१ रुपैयाँ बराबरका सामग्री डिस्पोज गर्ने निर्णय सहित उक्त बस्तुहरु नष्ट गरेको हो ।

व्यास नगरपालिका बजार अनुगमन समिति संयोजक तथा उप–प्रमुख ईन्दिरा दरैको अध्यक्षतामा बसको बैठकले अनुगमनका क्रममा बरामद भएका म्याद नाघेका उपभोग्य वस्तु तत्काल प्रभावबाट नष्ट गर्ने निर्णय गरेको छ । फोहोर व्यवस्थापनका लागि व्यास–१ कमलडीमा रहेको फोहोर डिस्पोज खाडलमै ती वस्तु नष्ट गरिने समिति सचिव रामचन्द्र हड्खलेले जानकारी दिए ।

बैठकमा प्रजिअ कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, नगर पालिकाका प्रतिनिधि प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल, एकीकृत सेवा कार्यालय तनहुँका प्रतिनिधि ईश्वरीप्रसाद रेग्मी, खाद्य प्रसादी तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि ज्योति आचार्य, तौल–माप संगठन, उद्योग व्यवसाय संघका प्रतिनिधि, आ.वि.स. संयोजक खेमराज पोखरेल, पत्रकारशंकरराज नहर्की लगायतको उपस्थिति रहेको थियो ।
अनुगमन अवधिमा विभिन्न किराना, सुपरमार्केट तथा खुद्रा पसलबाट संकलन गरिएको म्याद नाघेका खानेकुरा, पेयपदार्थ, व्यक्तिगत उपभोगका सामग्री तथा प्याकेजिङ सामान सहित ७३ हजार रुपैयाँभन्दा धेरै बराबरका वस्तु सुरक्षित रूपमा नष्ट गरिने निर्णय गरि उत्त वस्तुहरु नष्ट गरिएको नगरपालिकाले जनाएको छ। स
नगरपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई नियमित र कडाइका साथ सञ्चालन गर्ने, उपभोक्ता सुरक्षा तथा गुणस्तर सुनिश्चितताका लागि आवश्यक समन्वय थप प्रभावकारी बनाईने जनाएको छ ।




























