प्रहार समाचार । तनहुँ, १३ मंसिर २०८२ शनिबार । तनहुँको व्यास नगरपालिका–३ मा रहेका ज्येष्ठ नागरिकबीच आध्यात्मिक चेतना फैलाउने उद्देश्यसहित श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक सत्संग समितिद्वारा सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । सत्संग समिति परिसरमा सुरु भएको महायज्ञको उद्घाटन अनन्त विभूषित मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्य श्रीजी महाराजले गरेका थिए । ह

महायज्ञमा व्यासका अध्येता काशीनाथ न्यौपाने प्रमुख वाचकका रूपमा रहेका छन् । पितृ उद्धार तथा भक्तजनलाई आध्यात्मिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञ मंसिर १० गतेदेखि १८ गतेसम्म सञ्चालन भइरहेकाे समितिका सचिव कृष्णप्रसाद वाग्लेले जानकारी दिए ।
प्रत्येक दिन बिहान ८ बजेदेखि ९ बजेसम्म पूजा–अर्चना, ९ बजेदेखि साँढे ११ बजेसम्म पाठ पारायण र त्यसपछि ११:४५ देखि अपराह्न ४ बजेसम्म कथा प्रवचन हुँदै आएको आयोजक समितिले जनाएको छ । प्रत्येक दिन ४ बजेदेखि ४:३० बजेसम्म आरती तथा प्रसाद वितरण कार्यक्रम सञ्चालन भइरहेको छ ।
महायज्ञअन्तर्गत यहि मंसिर ९ गतेबाट सुरु भएको यज्ञ १७ गते दिउँसो ४ बजे तिलार्पण र १८ गते बिहान ८ बजेदेखि हवन (पूर्णाहुति) तथा प्रसाद वितरणका साथ महायज्ञ सम्पन्न गरिने आयोजकहरूले जानकारी दिएका छन् ।



























