हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

तनहुँको मादीसेती संगम परिसरमा सरसफाइ अभियान : चार बोरा प्लास्टिक फोहोर संकलन

प्रहार समाचार । तनहुँ, १२ मंसिर २०८२ शुक्रबार । । पवित्र मादी र सेती नदिको संगम स्थलमा चाडपर्वका अवसरमा पुजाका नाममा नदीमा फालिने नकुहिने फोहोरले प्रदूषण बढेपछि सरसफाइ अभियन्ता भाग्यशाली ढुंगाना सचेतना कार्यक्रमसहित सरसफाइ अभियानमा जुटेका छन्। एकादशी, बाला चतुर्दशी, माघेसक्रान्तीलगायतका पर्वमा भक्तजनले ल्याउने प्लास्टिकजन्य सामग्री नदीमा फ्याकिँदा प्रदूषण फैलने भएकाले सचेतना कार्यक्रम थालिएको ढुंगानाले बताए।

नदीमा पुजा अर्चना गर्दा नकुहिने फोहोर आफैं व्यवस्थापन गर्न आग्रह गर्दै ढुंगानाले मादीसेती संगम क्षेत्रका विभिन्न ठाउँमा ‘प्लास्टिक आफैँ लैजाऔँ, नदी बचाऔँ’ भन्ने सन्देशसहितका व्यानर टाँसेका छन्। ब्यास क्षेत्रका प्रमुख संरक्षक शान्तिस्वरूपानन्द दामोदर बाबाले ढुंगानाको अभियान महत्त्वपूर्ण रहेको बताउँदै धार्मिक स्थानको संरक्षण सबैको दायित्व भएको उल्लेख गरे।

वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका अध्यक्ष ध्यानाचार्य खेमराज अधिकारीले ढुंगानाले नगरपालिकामा रहेकै समयदेखि सरसफाइ अभियानलाई निरन्तरता दिँदै आएको र अहिले पनि सक्रिय रूपमा अभियान चलाइरहेको जानकारी दिए। वेदानुयायी प्रतिष्ठान नेपालका संरक्षक गोविन्द बाबाले भक्तजनले पुजाका सामान आफैंले व्यवस्थापन गरे नदी शुद्ध राख्न सहज हुने बताए।

बाला चतुर्दशीसँगै सञ्चालन गरिएको सचेतना कार्यक्रमपछि ढुंगानाको नेतृत्वमा गरिएको सफाइ अभियानमा अन्य स्थानीयको समेत सहभागिता रहेको थियो। अभियानका क्रममा करिब चार बोरा प्लास्टिकजन्य नकुहिने फोहोर संकलन गरिएको बताइएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button