प्रहार समाचार । दोहा , १२ मंसिर २०८२ शुक्रवार । कतारको दोहामा भएको फाइनल खेलमा पोर्चुगलले अस्ट्रियामाथि सानदार जित निकाल्दै पहिलोपटक फिफा यू–१७ विश्वकप आफ्नै नाममा लेखेको छ।

यो सङ्गै यू–१७ विश्वकपको उपाधि पोर्चुगलले जित्न सफल भएको छ। कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न रोमाञ्चक फाइनलमा पोर्चुगलले अस्ट्रियालाई १–० ले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
खेलको ३२औँ मिनेटमा फरवार्ड एनेसियो काब्रालले गरेको गोल नै पोर्चुगललाई च्याम्पियन बनाउने निर्णायक क्षण साबित भयो। खेलभरि दुवै टोलीले आक्रामक प्रदर्शन गरे पनि काब्रालको गोल जोगाउन सफल पोर्चुगलले ट्रफी उचाल्दै आफ्नो यू–१७ फुटबल इतिहासमा नयाँ अध्याय थप्यो।
तेस्रो स्थानका लागि इटाली र ब्राजिलबीच भएको खेल पेनाल्टी सुटआउटमा टुंगिएको थियो। निर्धारित समयसम्म खेल १–१ को बराबरीमा रोकिएपछि पेनाल्टीमा इटालीले ब्राजिललाई ४–२ ले पराजित गर्दै तेस्रो स्थानमा चित्त बुझायो।
यसअघि सेमिफाइनलमा पोर्चुगलले ब्राजिललाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने अस्ट्रियाले इटालीलाई हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको थियो।
यो संस्करणमा कुल ४८ राष्ट्रले सहभागिता जनाएका थिए।
























