प्रहार समाचार । तनहुँ, १२ मंसिर २०८२ शुक्रबार । मुग्लिन–पोखरा सडक स्तरोन्नतिको क्रममा पोखराको विजयपुरखोलामा भइरहेको ‘ग्रीडर लन्चिङ’ कार्य सकिएपछि आजदेखि उक्त खण्डमा कुनै पनि प्रकारको यातायात अवरोध रहने छैन। मङ्सिर ६ देखि ११ गतेसम्म बिहान र दिउँसो गरी चार–चार घण्टा मार्ग बन्द गरिएको यो क्षेत्रमा अब निरन्तररूपमा आवागमन सुचारु रहने जानकारी योजना कार्यालयले दिएको छ।

सडक विस्तार, कालोपत्रे, नाला तथा पुल निर्माण तीव्र गतिमा जारी रहँदा कतिपय स्थानमा यात्रा झनै सहज र सुरक्षित बन्दै गएको स्थानीय बासिन्दाको प्रतिक्रिया छ। पोखरा–जामुने पश्चिम खण्डमा ३८ किलोमिटरमध्ये ३७ किलोमिटर एकतर्फी कालोपत्रे पूरा भइसकेको छ भने धेरै स्थानमा दोस्रो तहसम्मको पिचसमेत सम्पन्न भइसकेको परियोजना कार्यालयले जनाएको छ।

पश्चिम खण्डमा निर्माण भइरहेका १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका छन्। सेती नदीमा बन्दै आएको पुलले पनि आधाभन्दा बढी भौतिक प्रगति गरिसकेको छ। दैनिक करिब ६ सय मजदुर संलग्न रहने यस परियोजनामा मासिक करिब १८ हजार मजदुरले रोजगारी पाउने व्यवस्था रहेको छ। हाल परियोजनाको भौतिक प्रगति ५९ प्रतिशत नाघेको इन्जिनियर सहनशिला कायस्थले जानकारी दिइन्।
उनका अनुसार कतिपय स्थानमा रुख कटानी, संरचना सार्ने प्रक्रिया तथा निजी घर हटाउने विषयमा ढिलाइ हुँदा केही काम प्रभावित भए पनि समग्र प्रगति भने लक्ष्यअनुसारै अघि बढिरहेको छ। सडक चौडाइ विस्तार, सर्भिस लेन निर्माण, नाला, पुल तथा कल्भर्ट निर्माण समानान्तर रूपमा जारी रहेको परियोजना कार्यालयले जनाएको छ।
यातायात अवरोध हटेसँगै यात्रु तथा चालक दुवैका लागि यात्रा सहज, द्रुत र सुरक्षित बन्ने आशा परियोजनाले व्यक्त गरेको छ।
























