हेडलाईनसमाचारभानुगण्डकीस्वास्थ्य

तनहुँको भानु नगरमा तीनदिने नि:शुल्क मुटु परीक्षण शिविर सुरु : १८ वर्ष मुनिका ३ हजार विद्यार्थी लाभान्वित हुने लक्ष्य

प्रहार समाचार । तनहुँ, १२ मंसिर २०८२ शुक्रवार । तनहुँको भानु नगरपालिकाले १८ वर्ष मुनिका बालबालिकाका लागि सुरु गरेको तीनदिने नि:शुल्क मुटु स्वास्थ्य शिविर हिंजोदेखि औपचारिक रूपमा संचालनमा आएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्राविधिक सहयोगमा भानु–५ पुरानडिही नगर अस्पतालमा सुरू गरिएको यस विशेष स्वास्थ्य सेवाबाट करिब ३ हजार विद्यार्थी लाभान्वित हुने लक्ष्य राखिएको छ।

नगर प्रमुख आनन्द राज त्रिपाठीले प्राविधिक सहयोगका लागि ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ टोलीलाई धन्यवाद ज्ञापन गर्दै नगरका बालबालिकाको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यस्तो कार्य निरन्तर अघि बढाइने बताए। शिविरमा ECG, ECHO, औषधोपचार तथा परामर्श सहितका मुटु परीक्षण सेवा निःशुल्क उपलब्ध गराइएका छन्।

शिविर मंसीर ११ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ। पहिलो दिन भानु–१, २ र ३ का विद्यार्थीहरूको परीक्षण भइरहेको छ। दोस्रो दिन भानु–४, ५, ६, १२ र १३ का विद्यार्थीहरुको परीक्षण हुनेछ भने तेस्रो दिन भानु–७, ८, ९, १० र ११ का विद्यार्थीहरूको क्रमशः स्वास्थ्य परीक्षण हुनेछ। सबै परीक्षणहरू विहान ८ बजेबाट सुरु हुने नगरपालिकाले जनाएको छ।

विद्यार्थीहरू समयमै परीक्षणका लागि उपस्थित हुने व्यवस्था मिलाउन नगरपालिकाले सबै वडाध्यक्ष, जनप्रतिनिधि, विद्यालय प्रअ, शिक्षक, अभिभावक तथा सरोकारवालालाई आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरेको छ। नगरपालिकाका अनुसार बालबालिकामा मुटु समस्याको प्रारम्भिक पहिचान तथा रोकथामका लागि शिविर महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button