हेडलाईनसमाचारबन्दीपुरगण्डकीमनोरञ्जन

‘पहाडकी रानी’ बन्दीपुरमा महोत्सवको रंग उत्सव : स्थानीय कला–संस्कृतिदेखि साहसिक पर्यटनसम्मद्वारा पर्यटक मुग्ध

प्रहार समाचार । तनहुँ, १० मंसिर २०८२ बुधबार । पर्यटन प्रवर्द्धनका उद्देश्यले तनहुँको पुरानो सदरमुकाम तथा ‘पहाडकी रानी’का नामले प्रसिद्ध बन्दीपुर यतिबेला छैटौँ बन्दीपुर महोत्सवको उत्सवले तातिएको छ।

 

तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर इकाइको आयोजनामा तथा बन्दीपुर गाउँपालिकाको प्रवर्धनमा आजदेखि औपचारिक रूपमा महोत्सव सुरु भएको हो ! ‘छैटौँ बन्दीपुर महोत्सव–२०८२’ सुरु भएको हो ।

महोत्सवको उद्घाटन गर्दै समाजसेवी एवं अग्रज पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले कुनै बेला मृत प्राय तथा भूत बङ्गला समान रहेको बन्दीपुरको पर्यटन प्रबर्धनमा आफू दशकौं देखि निरन्तर लागिपरेको बताए । उनले बन्दीपुर नेपालको प्रमुख गन्तव स्थल बनेकोमा खुशी व्यक्त गरे । श्रेष्ठले भने – ‘यहाँ एक पटक आउने पर्यटक यहाँको सुन्दर भक्तपुरे शैलिको वास्तुकला, सुन्दर प्राचिन मठ-मन्दिर तथा अपार सुन्दर हिम सृङ्खला तथा यहाँको स्वच्छ र स्वस्थ्य वातावरण नै पर्यटकहरुको रोजाइमा परेको उल्लेख गरे । पर्यटन विकासमा आफूले दशकौ बिताएको स्मरण गराउँदै श्रेष्ठले यसलाई प्राचिनता नमेटिने गरी व्यवस्थित र दिगो रूपमा विकास गर्न सबैको संयुक्त प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे । उनले स्थानीय कला, संस्कृति र पहिचान नै बन्दीपुरको वास्तविक ‘ब्रान्ड’ भएकाले त्यसको संरक्षण र प्रवर्द्धनमा समुदाय अग्रसर हुनुपर्नेमा जोर दिए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले महोत्सवलाई आर्थिक परिचालन, स्थानीय उत्पादनको बजार विस्तार र पर्यटकीय सम्भावना प्रदर्शन गर्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा अघि सारे । उनले बन्दीपुरलाई ‘मोडेल पर्यटन नगर’ बनाउन पालिकाले बहुआयामिक योजनासहित अघि बढिरहेको बताए ।

त्यस्तै, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले दुवै नगरबीच पर्यटन सहकार्य विस्तार हुनेमा विश्वास व्यक्त गर्दै बन्दीपुर आउने पर्यटकलाई राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँडी रम्घासम्म जोड्ने सांस्कृतिक–धार्मिक, तथा साहित्यिक पर्यटन मार्ग विकासमा आफू लागिपर्ने घोषणा गरे ।

यस वर्ष ‘टुंडिखेल’ क्षेत्र महोत्सवको मुख्य आकर्षण बनेको छ, जहाँ २१ मङ्सिरसम्म विविध परिकार, कला–संस्कृति, व्यापार, कृषि तथा साहसिक गतिविधिहरू प्रस्तुत गरिनेछन् । उद्घाटन समारोहमा विभिन्न जातजातिका समुदायले आफ्ना भेषभूषा झल्किने झाँकीसहित बजार परिक्रमा गरेको रंगीन र्यालीले महोत्सवको माहोल झनै उत्साहजनक बनेको थियो ।

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र, पूर्व अध्यक्षहरु मानकाजी श्रेष्ठ, देवकुमार श्रेष्ठ, महोत्सवका संरक्षक एवं पर्यटन व्यवसायी बैंस गुरुङ लगायतले बन्दीपुरको पर्यटकीय सम्भावनाका बारेमा चर्चा गरेका थिए । उद्योग बाणिज्य संघका पूर्व अध्यक्षहरु उद्योग वाणिज्य सङ्घ बन्दीपुर इकाइका सभापति घनश्याम उपाध्यायले महोत्सवमा करिब दुई लाख पर्यटक अवलोकनका लागि आउने अनुमान गर्दै पाँच करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको बताए ।

पर्यटकका लागि खड्गदेवी, पहाडपानी महादेव, विन्ध्यवासिनी, थानीमाई, महालक्ष्मी, चामुण्डामाई, भुत्याहा बराहा, सन्तानेश्वर महादेवदेखि ऐतिहासिक मणिमुकुन्द सेन दरबार र रानीवनसम्मको भ्रमण प्याकेज उपलब्ध गराइने जानकारी दिइएको छ । साथै चट्टान आरोहण, प्याराग्लाइडिङ, सेती जलयात्रा, साइक्लिङ जस्ता साहसिक पर्यटन खेलहरू महोत्सवको प्रमुख आकर्षण बनेका छन् ।

महोत्सव स्थलमा घरेलु तथा हस्तकला, कृषि उपज, सेवामूलक संस्था, होटल–रेष्टुराँ, सूचना केन्द्र र सवारीसाधनका प्रदर्शनी कक्ष राखिएका छन् । कृषिसम्बन्धी स्टलहरूलाई निःशुल्क उपलब्ध गराइएकाले स्थानीय उत्पादक उत्साहित छन् । हाल बन्दीपुर बजार आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button