• विजय अधिकारी ( संवाददाता ) १० मंसिर २०८२ बुधवार । लमजुङको बेसीशहर नगरपालिका स्तरिय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनविकास माध्यमिक विद्यालय, बेसीशहर–७, उत्कृष्ट प्रदर्शनसहित प्रथम हुन सफल भएको छ। विद्यालयले ११ स्वर्ण, ५ रजत र ४ कास्य गरी कुल २० पदक हात पार्दै उपाधि सुरक्षा गरेको हो।

सामुदायिक र संस्थागत गरी २४ माध्यमिक विद्यालयबीचको कडा प्रतिस्पर्धा रहेको प्रतियोगितामा भूपू सैनिक आवासिय माध्यमिक विद्यालय बेसीशहरले ९ स्वर्ण र ५ रजत पदक सहित दोस्रो स्थान ओगट्यो। यस्तै, युनिभर्सल एकेडेमीले ६ स्वर्ण र ४ रजत पदक जित्दै तेस्रो स्थानमा समेटियो।

विजयी खेलाडी तथा विद्यालयहरूलाई बेसीशहर नगरपालिकाकी उपप्रमुख पद्मा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, वडा नम्बर २ का अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक मदन राना, शिक्षा शाखा प्रमुख सृजना पाण्डे चिलुवाललगायतले संयुक्त रूपमा ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए

विद्यार्थीमा अनुशासन, मैत्री र प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने उद्देश्यले आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको बेसीशहर नगरपालिकाले जानकारी दिएको छ।




























