प्रहार समाचार । काठमाडौँ, ७ मंसिर २०८२ आईतबार । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं आज रिहा भएका छन् ।

सर्वोच्च अदालतले गैरकानुनी थुनामा राखिएको ठहर गर्दै प्रसाईंलाई रिहा गरिएको हो । थुनामुक्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले प्रधानमन्त्री र गृहमन्त्रीको विशेष आग्रहपछि केही समयका लागि आन्दोलनको स्वरूप परिवर्तन गर्न आफू सहमत भएको स्पष्ट पारे। उनले सर्वोच्च अदालत, समर्थकहरू र हिरासतका क्रममा सहयोग गर्ने सुरक्षाकर्मीप्रति आभार व्यक्त गरे।
प्रसाईंका अनुसार २७ बुँदे मागबारे छलफल गर्न सरकारले विज्ञसहितको टोली बनाउन तयारी देखाएको छ। लघुवित्त, सहकारी, बैंक पीडितदेखि सुकुम्बासी, कालोसूचीमा परेकाहरू र अन्य जनजीविकासम्बन्धी विषयमा आफूले आवाज उठाएको उल्लेख गर्दै उनले आफ्नो आन्दोलन हिंसारहित र देशको स्थिरतामै केन्द्रित रहेको दोहोर्याए।



























