प्रहार समाचार । तनहुँ, ७ मंसिर २०८२ आइतबार । तनहुँको व्यास नगरपालिका वडा नं -१, भादगाउँमा रहेको निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश चन्द्र बस्नेतले सातौँ व्यास नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ४०० मिटर दौडमा प्रथम स्थान हासिल गरेकी कक्षा ७ की आश्ना थापाको कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च व्यक्तिगत रूपमा आफूले व्यहोर्ने घोषणा गरेका छन्।

आश्ना थापाको घरको आर्थिक अवस्था कमजोर रहेको र कलिलै उमेरमा उनी अदम्य साहस, खेलकुद र पढाइमा प्रगति देखाइरहेकी कारणले प्रधानाध्यापक बस्नेतले यस्तो निर्णय गरेको बताए।
आ थापाले प्रतियोगितामा देखाएको दृढता, मेहनत र खेलकुदमा आत्मविश्वासले विद्यालय र स्थानीय समुदायमा गर्वको अनुभूति गराएको छ। प्रधानाध्यापक बस्नेतले भने, “उनको प्रतिभाको कदर होस् तथा थप प्रेरणा मिलोस् भन्ने उद्देश्यले मैले यो कार्य गरेको हुँ।” यस पहलले विद्यार्थीहरूमा उत्कृष्टता हासिल गर्न र आफ्नो क्षमता पहिचान गर्न प्रेरणा दिएको छ।
यस किसिमको पहलले समुदायमा शिक्षा र खेलकुदको महत्वलाई उजागर गरेको छ। आश्ना थापाको सफलता र प्रधानाध्यापक बस्नेतको सहयोगले हरेक विद्यार्थीलाई मेहनत र लगनशीलताले उज्ज्वल भविष्य बनाउन सकिने उदाहरण प्रस्तुत गरेको छ।



























