प्रहार समाचार । तनहुँ, २ मंसिर २०८२ मङ्गलवार । । सबैभन्दा व्यस्त राजमार्गमध्ये एक, मुग्लिन–पोखरा सडक खण्ड आगामी आज देखि १० दिनसम्म दैनिक चार–चार घण्टा बन्द हुने भएको छ। सडक स्तरोन्नति अन्तिम चरणमा पुगेका कारण निर्धारित समयमा सवारी आवतजावत पूर्ण वा आंशिक रूपमा रोक्ने निर्णय गरिएको हो।

मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिम खण्डमा बिहान ६ बजेदेखि ८ बजेसम्म र मध्यान्ह १२ बजेदेखि २ बजेसम्म सवारी साधन रोकिँदै निर्माण कार्य तीव्र गतिमा अघि बढाइने योजना प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिए।
हाल तनहुँको जामुने बजारदेखि पोखराको सेती नदी पुल सम्मको सडकमा स्तरोन्नतिको काम भइरहेको छ। साथै पोखराको विजयपुर पुलको अपस्ट्रिम साइड मा दुई लेनको प्रिकास्ट तथा प्रिस्ट्रेस प्रविधिको पुल निर्माण कार्य जारी रहेको छ।
सडक बन्द हुँदा दुई पाङ्ग्रे तथा साना सवारीसाधनले अर्घौचोक–बुढी बजार–बेलचौतारा हुँदै चाउथे मार्ग प्रयोग गर्न सक्नेछन्। यस्तै ठूला सवारीसाधनका लागि भने पावर हाउस चोक–बौमारा–बिरौटा हुँदै पोखरा आउजाउ गर्न अनुरोध गरिएको छ।योजना कार्यालयले तोकिएको समयसारीअनुसार सहयोग गरिदिन सर्वसाधारण तथा यातायात व्यवसायीलाई आग्रह गरेको छ।



























