प्रहार समाचार । तनहुँ, ३ मंसिर २०८२ बुधवार । मार्गशीर्ष कृष्ण त्रयोदशीअन्तर्गत मनाइने बालाचतुर्दशी पर्व आज देशभरका स्थानीय शिवालयमै धुमधामका साथ मनाइएको छ । दिवंगत पितृको नाममा रातभर जाग्राम बसेर दीप–महादीप प्रज्वलन गर्ने र भोलिपल्ट बिहानै धान, जौ, गहुँ, चना, तिल, मकैसहित फलफूल र फूल मिसाइएको शतबीज छर्ने प्रचलनअनुसार पशुपति क्षेत्रसँगै तनहुँको देवघाट धाम, तनहुँको शिवपाञ्चायन मन्दिर परिसर, भक्तपुर, सूर्यविनायक, चाँगुनारायण तथा मध्यपुरथिमिका विभिन्न शिवालयमा भक्तजनको ठूलो भीड जम्मा भयो ।

भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा यो वर्ष ५०० भन्दा बढी स्थानीयले अखण्ड दीप र महादीप बालेर जाग्राम बसेका थिए। सिपाडोल, गुण्डु, सिरुटार, सुडाल, छालिङ लगायतका क्षेत्रका शिवालय–अशापुरी, अनन्तलिङ्गेश्वर, चरखण्डीश्वर, सोमलिङ्गेश्वर, गुप्तेश्वर र ज्योर्तिलिंगेश्वर–मा पनि यस्तै भीड देखियो। मन्दिर व्यवस्थापन समितिहरूले जाग्राम बस्ने भक्तजनका लागि सुत्ने, बस्ने र सुरक्षासहितका व्यवस्था मिलाएपछि स्थानीयहरू सहजै आफ्नै गाउँमै पर्व मनाउन थालेका हुन्। चाँगुनारायण–५ को गोकुलधाम, मच्छेनारायण परिसर तथा मध्यपुरथिमिको सङ्गमेश्वर क्षेत्र पनि रातभर दीप–महादीपले उज्यालो बनेका थिए।
आज बिहान भक्तजनले स्नान गरी १०८ शिवलिंग तथा मन्दिर परिसरमा शतबीज छर्दै पर्वको मुख्य विधि सम्पन्न गरेका थिए। स्थानीयहरूका भनाइमा गाउँमै चौसठ्ठी वा १०८ शिवलिंग निर्माण, सत्तल, दीप बिसर्जनको व्यवस्था र व्यवस्थापनको सक्रियताले बालाचतुर्दशीका परम्परागत विधि सहज र भव्य रूपमा पुनर्स्थापित हुन थालेका छन्। चार वर्षयता स्थानीय मन्दिरमै मेला, होम–होमादी तथा सामूहिक जाग्राम बस्ने चलन बढेसँगै बालाचतुर्दशी अब केवल पशुपतिमा सीमित नभई गाउँ–गाउँको सामूहिक सांस्कृतिक उत्सवका रूपमा विस्तार भएको देखिन्छ।



























