हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकाका ४२ करार कर्मचारी आजदेखि विदा, तलब–भत्ता रोक्का गर्न निर्देश

प्रहार समाचार । तनहुँ, २ मंसिर २०८२ मङ्गलवार । स्थानीय तहमा संरचनागत सुधार र मितव्ययीता लागू गर्ने तयारीसहित व्यास नगरपालिकाले करार सेवामा कार्यरत ४२ जना कर्मचारीलाई मंसिर १ गतेदेखि विदा गर्ने निर्णय गरेको छ। नगरपालिकाको २२५औँ कार्यपालिका बैठकले लिएको उक्त निर्णय अनुसार सम्बन्धित विद्यालय र शाखाहरूलाई परिपत्र पठाइएको छ।

नगरपालिकाले ३४ जना स्वयंसेवक शिक्षक तथा कर्मचारी र ८ जना ईसीडी शिक्षक गरी कुल ४२ जनालाई करार सेवा समाप्त गर्ने निर्णय गरेको हो। सोका लागि नगरपालिकाले तलब–भत्ता मंसिर १ गतेदेखि निकासा नगर्न लेखा शाखालाई निर्देशन दिएको छ भने सूचना प्रविधि शाखालाई निर्णय नगरपालिकाको वेबसाइटमा सार्वजनिक गर्न पनि भनेको छ ।

बैठकमा नगरपालिकामा रहेको संगठन संरचना, दरबन्दी, करार कर्मचारियोंको संख्या तथा मितव्ययीता सम्बन्धी अध्ययन प्रतिवेदनमा व्यापक छलफल भएपछि हालका संघीय तथा प्रदेश ऐन तथा निर्देशिका अनुसार पुनर्संरचना आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लागू हुनु पूर्व नियुक्त कर्मचारी, विभिन्न कार्यालयबाट समायोजन भएर आएका करार कर्मचारी, नगरसभाबाट स्वीकृत दरबन्दी बमोजिमका तथा आन्तरिक स्रोतका कर्मचारी गरी चौथो तहभन्दा माथि ११४ जना दरबन्दीबाहिरका कर्मचारी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

संघीय सरकारको निर्देशन र सुशासनका मापदण्डलाई प्रमुख आधार मानी, राजीनामा दिन इच्छुक करार कर्मचारीलाई विद्यमान कार्यविधिअनुसार सुविधा उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ। सामी, भूमी, बालकल्याण, रूप, प्रधानमन्त्री रोजगार कार्यक्रम, जिसस तथा शून्य सुत्केरी दर भएका स्वास्थ्य संस्थाका कर्मचारीलाई ‘मार्ग प्रशस्त’ गर्न समेत अनुरोध गरिएको छ ।

यसैगरी, आगामी नगरसभाबाट अनुमोदन हुने गरी अत्यावश्यक शाखा तथा वडामा प्रशासन सहायकको चौथो तहको दरबन्दीलाई परिवर्तन गरी कम्प्युटर अपरेटरको दरबन्दी कायम गर्ने र अत्यावश्यक बाहेक नयाँ दरबन्दी नखोल्ने नीति अपनाउने निर्णय गरिएको छ ।

नगरपालिकाका सबै स्वीकृत तहका रिक्त पदमा पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगसँग माग गर्ने तथा संगठन संरचना सम्बन्धी सर्वेक्षण प्रतिवेदन–२०८२ पेश गरी आवश्यक निर्णय लिन कार्यालयलाई निर्देशनसमेत बैठकले दिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए । क


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button