हेडलाईनसमाचारप्रदेश

पार्टी दर्ताको होडबाजी : राजनीतिक अस्थिरताको संकेत, जेन–जी अभियानमा चुनौती

प्रहार समाचार । काठमाडौं, १ मंसिर २०८२ सोमवार । देशभर परिवर्तनको आकाङ्क्षा बढिरहेको बेला निर्वाचन आयोगमा पार्टी दर्ताको अस्वाभाविक वृद्धिले राजनीतिक वृत्तमै चिन्ता बढाएको छ। “मिलेर होइन फुटेर शक्ति बन्छ भन्ने सोच” मौलाउँदै गएको जस्तो देखिने यो प्रवृत्तिले जेन–जी पुस्ताले उठाएका सुधारका एजेन्डा कमजोर पार्ने खतरा शिक्षामन्त्री महाविर पुनले औंल्याएका छन् ।

शिक्षामन्त्री महाविर पुनले हालै सामाजिक सञ्जालमार्फत व्यक्त गरेको टिप्पणीले नेपालको पार्टी–राजनीतिक संरचनामा देखिएको विचित्र वास्तविकता फेरि एकपटक सतहमा ल्याएको छ। निर्वाचन आयोगमा १२३ राजनीतिक दल दर्ता भइसकेका र ३२ दल दर्ता हुने प्रक्रियामा रहेको तथ्यांकलाई उनले “आफ्नै खाल्डो आफैं खन्ने प्रवृत्ति” को उदाहरणका रूपमा व्याख्या गरेका छन् ।

पुनका भनाइमा, विश्व राजनीतिमा शक्ति विस्तार एकता, सहकार्य र साझा उद्देश्यमा आधारित हुन्छ। तर नेपालमा भने सानो–सानो मतभेद र व्यक्तिगत महत्वाकांक्षाका कारण दिनानुदिन पार्टी फुटाउने, नयाँ समूह दर्ता गर्ने होड चलिरहेको छ। “फुटेर होइन, जुटेर मात्रै बलियो हुन सकिन्छ,” उनले भनेको टिप्पणीले देशभित्र सहमतिको आवश्यकता कति तीव्र छ भन्ने प्रष्ट पार्छ ।

उनले चेतावनी दिएका छन् कि यस्तै प्रवृत्ति बढ्दै गयो भने पुराना, जरा गाडेर बसेका भ्रष्ट र अवसरवादी समूह पुनः सत्तामा फर्किन सक्ने सम्भावना बलियो बन्छ। अहिलेको मन्त्रिपरिषद्ले अघि बढाइरहेका सकारात्मक निर्णय र सुधारका प्रयासहरू पनि त्यस्ता शक्तिहरू फर्किएमा उल्टिने खतरा पुनले देखाएका छन् ।

जेन–जी पुस्ताले अघि सारेको राजनीतिक परिवर्तन र पारदर्शिताको लक्ष्य कमजोर नबनोस् भन्ने संकेत मंत्री पुनको अभिव्यक्तिमा स्पष्ट झल्किन्छ। पार्टी दर्ता बढ्दै गएको वर्तमान अवस्थाले नयाँ पुस्ताको आन्दोलनलाई कमजोर पार्दै, पुरानै राजनीतिक चक्र दोहोरिन नदिन सबै शक्तिहरू सचेत हुनुपर्ने उनको जोड छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button