प्रहार समाचार । कंगो, १ मंसिर २०८२ सोमवार । दक्षिणपूर्वी कंगोको लुआलाबा प्रान्तस्थित मुलन्दोको कलान्दो खानीमा आइतवार अत्यधिक भीडका बीच जीर्ण पुल भत्किँदा ठूलो मानवीय क्षति भएको छ । तीव्र वर्षा र पहिरोपछि जोखिमपूर्ण बनेको पुलमा आवागमन रोकिए पनि अवैध खानीकर्मीहरूले जबरजस्ती प्रवेश गर्दा दुर्घटना भएको प्रान्तीय मन्त्री रोय काउम्बा मायोन्देले बताए। उनका अनुसार कम्तीमा ३२ जनाले ज्यान गुमाएका छन्।

तर सरकारी खानी एजेन्सीले फरक कारण प्रस्तुत गर्दै घटनास्थलमा तैनाथ सेनाले गोली चलाएपछि भगदड मच्चिएको र भीड एकैपटक पुलतर्फ धस्सिएर संरचना भत्किएको जनाएको छ। प्रतिवेदनमा मृतकको संख्या ४० पुगेको उल्लेख छ। पुल भत्किँदा थुप्रिएर कैयौँ घाइते समेत भएका छन्।
कलान्दो क्षेत्र लामैदेखि अवैध खानीकर्मी, सहकारी समूह र कानुनी सञ्चालकबीचको विवादको केन्द्र रहँदै आएको छ। विश्वकै सबैभन्दा ठूलो कोबाल्ट उत्पादक कंगोका करिब ८० प्रतिशत खानी सञ्चालनमा चिनियाँ कम्पनीहरूको प्रभाव रहँदै आएको छ, जसले यहाँको कोबाल्ट आपूर्तिलाई थप संवेदनशील बनाएको छ।



























