प्रहार समाचार । तनहुँ, ३० कात्तिक २०८२ आइतवार । तनहुँको भानु नगरपालिकामा सम्पन्न नगरस्तरीय अन्तर विद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता–२०८२ को उपाधि प्रभात माध्यमिक विद्यालय, भानु–६ सिम्पानी को पोल्टामा परेको छ । गोठेरी खेलमैदानमा भएको रोमाञ्चक फाइनल खेलमा प्रभात माविले सरस्वती माध्यमिक विद्यालय भानु–१२ घलेछापलाई २५–१६, २५–१८ र २५–१७ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।

विजयसहित प्रभात माविले २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे भने उपविजेता सरस्वती माविले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे। यसपटक सहभागी १५ विद्यालयमध्ये त्रिभुवन माविले तृतीय स्थान हासिल गर्दै १५ हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भयो।
कार्यक्रमलाई झनै आकर्षक बनाएको अर्को खेलमा भानुका शिक्षकहरू र नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरूको संयुक्त टिमबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भयो। यसमा कर्मचारी–जनप्रतिनिधिको टिमले शिक्षक टोलीलाई ३–१ को सेटमा हराउँदै जित हात पार्यो।
महिला तर्फ २०० मिटर दौड प्रतियोगिता पनि आयोजित गरिएको थियो। जनसहयोगी माविकी रोजिना प्रथम, होरालो माविकी राधिका कुमाल द्वितीय र शान्ति आधारभूत विद्यालयकी निरुता विक तृतीय भइन्। उनीहरूले क्रमशः ३ हजार, २५ सय र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकाले नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख उपसचिव ध्रुवराज पौडेलले जानकारी दिए।
नगर खेलकुद विकास समितिका संयोजक तथा वडा नं. ३ का वडाध्यक्ष तुलकुमार गुरुङको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण समारोहमा नगर उप–प्रमुख उमा गौतमले खेल क्षेत्र सशक्त बनाउन पालिकाले योजनाबद्ध रूपमा अघि बढिरहेको बताउँदै यस्ता प्रतियोगिताले विद्यार्थी तथा समुदायबीच संयम, अनुशासन र मैत्रीपूर्ण सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गरिन् । ।र



























