हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

स्वर्णविन्दु प्राशन अब तनहुँमा पनि : रोगप्रतिरोध क्षमता वृद्धि गर्ने कार्यक्रम सुरु

प्रहार समाचार । तनहुँ, २६ कात्तिक २०८२ बुधवार । नेपालका २६ जिल्लामा यस वर्षदेखि सुरु गरिएको ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रम अन्तर्गत बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाउने कार्य तनहुँमा पनि औपचारिक रूपमा सुरु भएको छ । गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठले दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सकालयमा बालिकालाई स्वर्णबिन्दु प्राशन खुवाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

प्रदेश आयुर्वेद चिकित्सकालय तनहुँका कविराज निरीक्षक भोजहरी रानाभाटले हिंजो २ सय ४० जना एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वबिन्दु प्राशन खुवाइएको जानकारी दिए ।

नेपाल सरकारको पहलमा गण्डकी प्रदेशका बागलुङ, तनहुँ, कास्की र नवलपुरमा पाइलट परियोजनाका रूपमा यो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यालय प्रमुख डा. नारायण श्रेष्ठका अनुसार बालबालिकाको रोगसँग लड्ने क्षमता, बौद्धिक विकास तथा तौल–उचाइ वृद्धि गर्न स्वर्णविन्दु प्राशन सहयोगी हुने अपेक्षा गरिएको छ ।

सरकारले तय गरेको कार्यविधिअनुसार एकदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र दुईदेखि पाँच वर्षका बालबालिकालाई चार थोपा स्वर्णविन्दु प्रत्येक पुश्य नक्षत्रको अवसरमा खुवाइनेछ । यस वर्ष स्वर्णविन्दु प्राशन कात्तिक २५, मङ्सिर २२, पुस २१, माघ १८, फागुन १६, चैत १४, वैशाख १०, जेठ ६, असार ३, साउन ९, भदौ ५ र असोज २९ गते खुवाइनेछ ।

स्वर्णभस्म, घिउ र महको उचित मात्रा मिलाएर तयार गरिने स्वर्णविन्दु चिकित्सकको प्रत्यक्ष निगरानीमा खुवाइनेछ । तर, ज्वरो, अजीर्ण, झाडापखाला, रुघाखोकी वा एलर्जी भएका बालबालिकालाई यो खुवाउन नहुने चिकित्सकहरूले सुझाएका छन् । सेवनपछि बालबालिकालाई कम्तीमा ३० मिनेटसम्म निगरानीमा राखी दूध वा खाना नदिइने जनाइएको छ ।

डा. श्रेष्ठका अनुसार “स्वर्णविन्दु प्राशनले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ,” भने गण्डकी प्रदेशका तनहुँ सहित चार जिल्लामा सुरु भएको यो कार्यक्रमले आगामी दिनमा बाल स्वास्थ्य सुदृढीकरणमा नयाँ दिशानिर्देश दिने अपेक्षा गरिएको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button