• विजय अधिकारी (संवाददाता ) । प्रहार समाचार । तनहुँ, २५ कार्तिक २०८२ मङ्गलवार । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिर यस वर्ष कात्तिक महिनाभर झनै भक्तिभाव र आस्थाको केन्द्र बनेको छ । कार्तिकका तीन मंगलबारमा मात्र मन्दिरमा दुई सय दश फूलका डोली चढाइएका छन् । प्रत्येक मंगलबार बिहानदेखि नै बाजागाजा, भजनकिर्तन र नाचगानसहित भक्तजनले फूलका डोलीसहित थानीमाईको दर्शन गरेका थिए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार कार्तिकको पहिलो मंगलबार औंशी परेकाले डोली चढाइएन, भने दोस्रो मंगलबार ८६, तेस्रो मंगलबार ५८ र अन्तिम मंगलबार ६६ फूलका डोली चढाइएका हुन् । तनहुँ, लमजुङ, गोरखा, चितवन, काठमाडौं र पोखरालगायत स्थानबाट आएका भक्तजनले सोमबार राति नै मन्दिर परिसरमा सत्यनारायणको पूजा गरी जाग्राम बसेर मंगलबार बिहान डोली चढाउने परम्परा पालन गर्दै आएका छन् ।
भक्तजनहरूका अनुसार थानीमाईलाई फूलको डोली चढाउँदा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । कार्तिक महिनाभर मन्दिर परिसरमा लाखौँको संख्यामा भक्तजनको उपस्थितिले तनहुँको धार्मिक पर्यटनमा नयाँ रौनक थपेको छ ।




















