हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर १ देखि सञ्चालन हुने

प्रहार समाचार । तनहुँ, २५ कात्तिक २०८२ मङ्गलवार । तनहुँको व्यास नगरपालिकाको आयोजनामा सातौं अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी मंसिर १ गतेदेखि २ गतेसम्म सञ्चालन हुने भएको छ। स्थानीय तह स्तरीय प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको निर्णयअनुसार प्रतियोगिता व्यास–१, भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ। नगर क्षेत्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका छात्र–छात्रा सहभागी हुने यस प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र कराते (सितेरिया) खेलहरू सञ्चालन गरिने जनाइएको छ ।

विद्यालयहरूले खेलाडी छनोट गरी मिति २०८२ कार्तिक ३० गतेभित्र तोकिएको फारम सहित निर्मल माध्यमिक विद्यालयको प्रशासन शाखामा पेश गर्नुपर्नेछ। चालू शैक्षिक सत्रमा कक्षा १२ सम्म अध्ययनरत र २०६४ मंसिर १ पछि जन्मिएका विद्यार्थीहरू मात्र प्रतियोगितामा सहभागी हुन पाउने व्यास नगरपालिकाले जनाएको छ। प्रतियोगितामा सहभागी खेलाडीहरूले विद्यालयको झण्डा र औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने र अनुशासित ढंगले प्रतियोगितामा सहभागी गराउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

प्रतियोगिताको उद्घाटन मंसिर १ गते बिहान ११:३० बजे हुने छ भने सोही दिन बिहान ८ बजेबाट १०० मि., २०० मि., ३००० मि. दौड, सटपुट र लङजम्पका खेलहरू सञ्चालन गरिने कार्यक्रम रहेको छ। एथलेटिक्सतर्फ ट्रयाक र फिल्डका विभिन्न प्रतिस्पर्धा तथा करातेमा तौल वर्ग अनुसार छात्र–छात्रा प्रतियोगिता हुनेछन्। विद्यालयहरूले खेलाडीहरूको नामावली, जन्ममिति प्रमाणपत्र र फोटो सहितको विवरण हार्डकपी तथा सफ्टकपी दुवै माध्यममा दर्ता गराउनुपर्नेछ।

व्यास नगरपालिकाले यो प्रतियोगिताबाट चयन भएका खेलाडीहरूले आगामी प्रदेश तथा राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरको प्रतिनिधित्व गर्ने जानकारी दिएको छ। नगरस्तरमै आयोजना हुने यस वार्षिक प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन र सहकार्यको भावना विकास गर्न मद्दत गर्ने अपेक्षा नगरपालिकाले व्यक्त गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button