हेडलाईनसमाचारप्रदेश

तीन महिनामै प्रेस स्वतन्त्रता हननका ५९ घटना, बागमती प्रदेश सर्वाधिक प्रभावित

प्रहार समाचार । काठपाडौं, २३ कात्तिक २०८२ आइतवार । सञ्चार क्षेत्रका लागि चिन्ताजनक तथ्याङ्क सार्वजनिक भएको छ । प्रेस काउन्सिल नेपालले २०८२ साउन १ गतेदेखि असोज ३१ गतेसम्मको अवधिमा देशभर ५९ वटा प्रेस स्वतन्त्रता हननका घटना दर्ता भएको जनाएको छ । तीमध्ये सबैभन्दा बढी ३४ घटना कुटपिट र आक्रमणसम्बन्धी रहेका छन् ।

काउन्सिलका अनुसार अन्य घटनामा धम्की र दुर्व्यवहारका १०, पेशागत असुरक्षाका ८, कब्जा वा अवरोधका ५, नीतिगत बन्देजका २ घटना समावेश छन् । यस अवधिमा प्रेस स्वतन्त्रताको दुरुपयोगसम्बन्धी २ घटना पनि फेला परेका छन् ।

प्रदेशगत हिसाबले हेर्दा बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको देखिन्छ । सो प्रदेशमा मात्रै ४४ घटना दर्ता भएका छन् भने मधेस प्रदेशमा ६, लुम्बिनीमा ४, कोशीमा ३ र सुदूरपश्चिममा १ घटना भएका काउन्सिलले जनाएको छ । गण्डकी र कर्णाली प्रदेशमा भने कुनै घटना दर्ता भएका छैनन् ।

लैङ्गिक दृष्टिले हेर्दा ४३ पुरुष र ३ महिला पत्रकार गरी कुल ४६ जना पीडित भएको देखिएको छ । प्रेस स्वतन्त्रता दुरुपयोगका घटनामा बागमती र मधेस प्रदेशमा समान एक–एक घटना दर्ता भएको छ ।

काउन्सिलका अनुसार भदौ २३ र २४ गते काठमाडौँ उपत्यकामा ‘जेनजी आन्दोलन’ का क्रममा सञ्चारमाध्यमहरूमा भएको तोडफोड र आगजनीबारे स्थलगत अनुगमन पनि गरिएको थियो । प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रताको रक्षा र त्यसको दुरुपयोग रोक्न निरन्तर सक्रिय रहेको जनाएको छ ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालका अनुसार, “काउन्सिलले तथ्याङ्क मात्र सङ्कलन होइन, पीडित पत्रकारहरूको सुरक्षाका लागि पनि पहल गरिरहेको छ ।”


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button