• विजय अधिकारी ( संवाददाता ) लमजुङ, २२ कात्तिक २०८२ शनिवार । । लमजुङमा पछिल्ला दिनहरूमा सवारी दुर्घटनाको दर तीव्र रूपमा बढ्दै गएको छ। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म अलग–अलग घटनामा तीन जनाको मृत्यु भएपछि स्थानीयवासीहरू त्रसित बनेका छन्।

जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ खुदिबाट ६ नाइचेस्थित हिडिखोला हाइड्रोपावरतर्फ सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ८ सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। दुर्घटनामा दोलखा मेलुङ–४ का ३० वर्षीय चालक विनोद खड्का र २५ वर्षीय पारस खड्का घाइते अवस्थामा उद्धार गरिए पनि उपचारका क्रममा प्रदेश अस्पताल बेँसीसहरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए ।
सोही जीपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बू भने सकुशल रहेका छन् ।
त्यसैगरी, हिंजो शुक्रवार बिहान ग१ज ६३०६ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा बेँसीसहर नगरपालिका–८ निवासी कृति तामाङकी छोरी, सानी नेरिमा तामाङ घाइते भएकी थिइन्। उनलाई तुरुन्तै उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल बेँसीसहर लगिएको थियो, तर उपचारकै क्रममा उनको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
लगातार हुने सवारी दुर्घटनाले लमजुङमा सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासीहरूले प्रशासनलाई यातायात नियमन र सडक मर्मतमा कडाइ गर्न आग्रह गरेका छन्।
























