हेडलाईनसमाचारप्रदेश

कांग्रेसका नेता तथा पूर्वमन्त्री आफताब आलमको निधन

प्रहार समाचार । काठमाडौँ, २२ कात्तिक २०८२ शनिवार ।नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री आफताब आलमको निधन भएको छ। एक महिनाभन्दा लामो समयदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचाररत ६३ वर्षीय आलमको गएराति निधन भएको अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले जानकारी दिए।

दाहालका अनुसार आलमको निधन गएराति २:५९ बजे भएको हो। उनी मिर्गौला र उच्च रक्तचापबाट दीर्घकालीन रूपमा ग्रसित रहेका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि जेठ १४ गते नख्खु कारागारबाट छुटेपछि उनलाई मस्तिष्काघात भएको थियो। त्यसपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।

अन्नपूर्ण न्यूरो अस्पतालमा केही दिन उपचारपछि उनलाई थप उपचारका लागि केएमसी अस्पताल सारिएको थियो। अस्पताल लगिएको करिब १०–१२ दिनपछि नै स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको प्रशासन प्रमुख दाहालले बताए। लगातारको उपचारपछि समेत अवस्था सुधार नआएपछि अन्ततः गएराति उनको निधन भएको हो।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस–४ फरहदवामा बम विस्फोट गराएको र त्यसक्रममा केही व्यक्तिलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप कांग्रेस सांसद आलमसहितका केही व्यक्तिमाथि लागेको थियो। सो घटनामा संलग्नताको अभियोगमा उनी लामो समय कारागारमा रहेका थिए।

कारागारबाट छुटेपछि स्वास्थ्य अवस्था लगातार नाजुक बन्दै गएको आलमको अस्पतालमै निधन भएको हो। उनका पार्थिव शरीर रौतहट लगिने तयारी भइरहेको बताइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button