प्रहार समाचार । तनहुँ, १७ कात्तिक २०८२ सोमवार । तनहुँको व्यास नगरपालिका वडा नं- १, भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसमको प्रशासनिक भवन निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले आज भवन निर्माणका लागि पिल्लरको जगमा पूजापाठ गरी प निर्माण कार्यको सुरु गरे ।

१ करोड १२ लाख रुपैयाँ लागत अनुमान गरिएको सो भवन २०८२ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विश्वविद्यालय अनुदान आयोग, सानो ठिमी भक्तपुरले १ करोड सहयोग गर्ने भएको छ भने बाँकी रकम क्याम्पसकै स्रोतबाट जुटाइने जनाइएको छ। निर्माणाधीन भवनको भुइँतलामा पार्किङ सुविधा रहनेछ भने माथिल्ला तलामा प्रशासन, लेखा, परीक्षा लगायतका कार्यालयहरू रहने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जनाए ।
त्यस अवसरमा पब्लिक क्याम्पस संघ तनहुँका अध्यक्ष तथा आँबुखैरेनी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष ऋषि केसी, संघका केन्द्रीय सदस्य एवं जनज्योति क्याम्पस भिमादका प्रमुख केशवराज काफ्ले क्याम्पसका प्रमुख म हडखले, सहायक क्याम्पस प्रमुखहरू डा. रामकुमार अधिकारी र विश्वेश्वर तिमल्सेना, व्यवस्थापन विभागका प्रमुख जनक काफ्ले तथा पब्लिक क्याम्पस प्राध्यापक सङ्घ इकाइ अध्यक्ष राजन घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले भवन निर्माणले क्याम्पसको शैक्षिक र प्रशासनिक सेवाको सहजता र कार्यक्षमता बढाउने विश्वास व्यक्त गरेका थिए।



























