प्रहार समाचार । दोलखा , १७ कात्तिक २०८२ सोमवार । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रअन्तर्गत यलुङरी हिमालमा आज बिहान परेको भीषण हिमपहिरोमा परेर एक विदेशी र दुई नेपालीको ज्यान गएको छ। आरोहणका लागि पुगेका १५ जना विदेशी र स्वदेशी पथप्रदर्शकहरूको समूह बिहान करिब ९ बजे हिमपहिरोमा परेको प्रहरीले जनाएको छ। समूहका अन्य सदस्यहरूमध्ये केहीको अवस्था अझै अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार, हिमपहिरो परेको स्थान दुर्गम र उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले उद्धार कार्यमा चुनौती सामना गर्नुपरेको छ। यलुङरी हिमालको आधारशिविर नजिकै परेको उक्त हिमपहिरोले आरोहणमा गएका टोलीलाई प्रभावित पारेको जनाइएको छ।
स्थानीय वडाध्यक्ष निमगेली शेर्पाले बिहानैदेखि उद्धारका लागि प्रशासनलाई आग्रह गरे पनि हेलिकप्टर उडान अनुमति प्रक्रियामा ढिलाइ हुँदा उद्धारमा समस्या भएको बताए। उनका अनुसार, रोल्वालिङ क्षेत्र प्रतिबन्धित क्षेत्र भएकाले आवश्यक अनुमति नआएसम्म हेलिकप्टर परिचालन गर्न नसकिएको हो।
यसैबीच, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली स्थलमार्ग हुँदै घटनास्थलतर्फ गइरहेका छन्। तर प्रतिकूल मौसमका कारण हवाई उद्धार प्रभावित भएको छ। प्रहरीले भने बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको जनाएको छ।



























