प्रहार समाचार । काठमाडौँ, १७ कात्तिक २०८२ सोमवार । सामाजिक विकास र वैश्विक समावेशी प्रगतिका एजेन्डा लिएर राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान कतार प्रस्थान गरेका छन् । उनले राजधानी दोहामा कात्तिक १८ देखि २० गतेसम्म हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा सम्मेलनमा सहभागी हुन गएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई विदा गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च पदस्थ सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरू उपस्थित थिए।
संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार आयोजना हुने यो सम्मेलनमा राष्ट्रपति पौडेलले कात्तिक १८ गते मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यहाँ उनले विश्वभर सामाजिक विकासमा देखिएका चुनौती, असमानता, जनसङ्ख्यागत असन्तुलन र प्रविधिक प्रभावका विषयमा नेपालका धारणा प्रस्तुत गर्नेछन्।
सम्मेलनका अवसरमा राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने तयारी पनि गरिएको छ। सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलो पटक आयोजित यो सम्मेलनको दोस्रो संस्करणले विश्व सामाजिक न्याय र दिगो विकासका मुद्दालाई पुनः अग्रभूमिमा ल्याउने अपेक्षा गरिएको छ।
सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको नेपाल अहिले आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को अध्यक्ष देशका रूपमा काम गरिरहेको छ। कतार भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम छ।



























