हेडलाईनसमाचारदेवघाटगण्डकी

अब तनहुँको देवघाटमै उच्च शिक्षा : मंसिर पहिलो सातादेखि देवघाट कलेजमा पढाई हुने

प्रहार समाचार । तनहुँ, १७ कात्तिक २०८२ सोमवार । तनहुँको प्रसिद्ध धार्मिक तिर्थस्थल देवघाट गाउँपालिका–५ मा स्थापना गरिएको देवघाट गाउँपालिकाकै पहिलो सामुदायिक कलेज ‘देवघाट कलेज’ मा यहि मंसिरको पहिलो सातादेखि औपचारिक रूपमा पढाई सञ्चालन गर्न तयार भएको छ । कलेजका अध्यक्ष डा. सुरेन्द्रप्रसाद श्रेष्ठका अनुसार कलेजले यसै महिना विद्यार्थी भर्ना पूरा गरेर कक्षा सुरु गर्ने तयारी गरेको छ । स्थानीयको दशकौँको सपना साकार पार्दै अब देवघाटमै उच्च शिक्षाको पहुँच सुनिश्चित भएको उनले बताए ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसे र लेखा अधिकृत बसन्तकुमार श्रेष्ठले आईतबार कलेजको भौतिक पूर्वाधार र शैक्षिक तयारीको स्थलगत अनुगमन गरेका थिए । डा. चालिसेले देवघाट कलेज उच्च शिक्षाको गुणस्तर कायम राख्दै पढाई सञ्चालन गर्न सक्षम रहेको निष्कर्ष प्रस्तुत गर्दै कलेज सञ्चालनको अनुमति दिएका छन् ।

अध्यक्ष डा. श्रेष्ठले स्थानीयको सहयोग, विश्वास र कलेज सञ्चालक समितिको अथक परिश्रमले देवघाट कलेज सम्भव भएको बताए । उनले भने, “अब आर्थिक अभावका कारण कसैको पढाइ रोकिँदैन, शिक्षा सबैको अधिकार हो ।” कलेजले स्नातक तहमा व्यवस्थापन संकायबाट अध्यापन सुरु गर्दै आगामी वर्षहरूमा अन्य विषय पनि थप्ने तयारी गरेको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले कलेजलाई दिगो रूपमा सशक्त बनाउने गरी गाउँपालिकाले वार्षिक बजेटमार्फत सहयोग गर्ने प्रतिबद्धता जनाए । स्थानीय बासिन्दा, शिक्षक र युवा उत्साहित छन् । देवघाट कलेजको सुरुवातले गाउँका विद्यार्थीलाई घरमै रहँदै उच्च शिक्षा हासिल गर्ने नयाँ बाटो खोलेको छ, र शिक्षा अब नजिक र सहज हुने विश्वास जगाएको छ ।- तस्बिर : देवघाट अनलाईन


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button