प्रहार समाचार । काठमाडौँ, १६ कात्तिक २०८२ आइतवार । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा फैलिएको नातावाद, कृपावाद र अनियमितताको भण्डाफोर गर्दै कडा प्रहार गरेकी छन्। सिंहदरबारमा निगमका अधिकारीहरूलाई निर्देशन दिंदै उनले भनिन् — “जेन-जीहरू सडकमा रगत बगाइरहेका छन्, र यहाँ आफन्त भर्तीको खेल चलिरहेको छ? अब यस्तो मनपरी एकछिन पनि सह्य हुँदैन।” उनले पहुँचका भरमा नियुक्त भएका करार कर्मचारीहरूलाई तुरुन्त बर्खास्त गर्न निर्देशन दिँदै निगमलाई रोगग्रस्त संस्था भनेकी छन्।

प्रधानमन्त्री कार्कीले निगमको दयनीय अवस्थामाथि रोष प्रकट गर्दै भनिन् — “हेर्दा त सब थोक भएको घरजस्तो, तर भित्र सडेको। १७ अर्बको घाटा जनतामाथि बोकाइयो, त्यो भ्रष्टाचार होइन त?” उनले भ्रष्ट र गैरजिम्मेवार व्यवस्थापनमाथि सीधा औँला ठड्याउँदै भनेकी छन्, “अब कसैको मुख हेर्ने छैन, बेथितिको जरो उखेलिन्छ।”
राजनीतिक दबाब र पहुँचको खेल अब सह्य नहुने चेतावनी दिँदै कार्कीले थपिन् — “राजनीतिका नाममा चल्ने ठगी बन्द गर, विधिसम्मत काम गर्नुस्, म तपाईंहरूको ढाल बन्छु।” उनले निगम सुधारका लागि ‘अप्रिय तर अपरिहार्य’ निर्णय लिन सरकार तयार रहेको बताउँदै भनेकी छन्, “अब यो संस्था जनताको हो, केहीको निजी जागिर वितरण केन्द्र होइन।”



























