प्रहार समाचार । काठमाडौँ, १५ कात्तिक २०८२ शनिवार । बंगालको खाडीमा विकसित चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा पुगेर न्यूनचापीय क्षेत्रका रूपमा कमजोर बनेको छ, जसको प्रभावले नेपालमा पछिल्ला दिनहरूमा देखिएको अस्थिर मौसमलाई असर गरेको हो। शनिबार बिहान बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ भने कोशी, मधेश र गण्डकी प्रदेशका थोरै ठाउँमा पनि हल्का वर्षा मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबारदेखि “मोन्था”को प्रभाव क्रमिक रूपमा घट्दै जाने र देशभर मौसममा सुधार देखिने अनुमान गरिएको छ। यद्यपि, नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकोले केही स्थानमा आंशिक बदली र छिटपुट वर्षा हुने सम्भावना छ।
विशेषज्ञहरूले चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै गए पनि वायुमण्डलीय आर्द्रता उच्च रहने भएकाले बिहान–साँझ हल्का बदली रहन सक्ने बताएका छन्। समग्रमा, चक्रवात “मोन्था”को प्रभाव अन्त्यतिर पुगेसँगै नेपालमा हिजोआजको अस्थिर मौसम क्रमशः सामान्यतर्फ उन्मुख भएको छ।



























